Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पसको ५८औं वार्षिकोत्सव भव्यताकासाथ सम्पन्न

त्रि.वि.–पृ.ना.क्या., भाद्र १७ – पृथ्वीनारायण क्याम्पस ५७औं वर्ष पूरा गरी ५८औं वर्षमा प्रवेश गरेको शुभअवसरमा आयोजित वार्षिकोत्सव समारोह मिति २०७४ भाद्र १७ गते शनिवारका दिन विविध कार्यक्रमसहित नवनियुक्त क्याम्पस प्रमुख प्रा.डा. चन्द्र बहादुर थापाको अध्यक्षतामा र पृथ्वीनारायण क्याम्पसका संस्थापक प्राचार्य जर्ज जोनको प्रमुख आतिथ्यतामा सुसम्पन्न भयो ।

प्रमुख अतिथिले त्रिविको झण्डा र समारोहका अध्यक्षले राष्ट्रिय झण्डालाई झण्डोत्तोलन गरी सुरू गरिएको उक्त कार्यक्रम प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी समारोहको औपचारिक उद्घाटन गरिएको थियो ।

सो समारोहमा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू र पूर्व क्याम्पस प्रमुखहरूलाई विशेष आमन्त्रित गरिएको थियो । आमन्त्रित पूर्व क्याम्पस प्रमुखहरू जोर्ज जोन, गणेश बहादुर गुरूङ्ग, र प्रा.डा. डीलबहादुर क्षत्रीको उपस्थिति रहेको थियो । त्यसैगरी पूर्व निमित्त क्याम्पस प्रमुखहरू रामनाथ अधिकारी र प्राध्यापक विश्वराज अधिकारीको पनि उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिका आसनबाट बोल्दै आफ्नो मन्तव्य राख्ने क्रममा क्याम्पसका संस्थापक प्राचार्य जोनले पृथ्वीनारायण क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको मेहनतले नै क्याम्पस यहाँसम्म आईपुगेको छ । वहाँको सुझाव थियो – “यदि क्याम्पसलाई माथि उठाउनु छ भने अरूको धेरै आशा नगर्नुस् तपाईहरूले नै बनाउने हो ।”

पूर्व क्याम्पस प्रमुखहरूका तर्फबाट बोल्दै निवर्तमान क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले भन्नुभयो – “पृथ्वीनारायण क्याम्पसलाई केन्द्रीय सरकारको मातहतमा त्रि.वि.कै हैसियतको छुट्टै सरकारी विश्वविद्यालयमा परिणत गर्नुपर्छ । यदि त्यो सम्भव नभएमा प्रादेशिक विश्वविद्यालय वा डिम्ड विश्वविद्यालयमा रुपान्तरण गर्नुपर्छ ।” नवनियुक्त क्याम्पस प्रमुख प्रा.डा. थापाको कार्यकालको उत्तरोत्तर प्रगतिको कामना गर्दै वहाँले अगाडि भन्नुभयो – “क्याम्पसले आगामी दुई वर्षमा ६०औं वर्ष प्रवेशको उपलक्ष्यमा मनाउन लागेको हिरक जयन्ती (Diamond Jubilee) र सोही अवधिभित्र क्याम्पसलाई विश्वविद्यालयमा परिणत गरी दुवैको शुभकार्य एकैचोटी मनाउने अवसर मिलोस् ।”

समारोहको समापन गर्दै क्याम्पस प्रमुख प्रा.डा. थापाले विद्यार्थी र संस्थाको भलाईको पक्षमा जस्तोसु कै पस्थितिमा पनि दरोगरी उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले अगाडि भन्नुभयो – “समस्याहरू नभएका होईनन् तापनि हाम्रो निरन्तर प्रयास रहने छ, क्याम्पसमा प्राज्ञिक उन्नयनका लागि मेरो साथ रहने छ ।”

मन्तव्य दिनुहुने प्राध्यापक कर्मचारीहरूमा पूर्व क्याम्पस प्रमुखहरूका तर्फबाट निवर्तमान क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछाने, विभागीय प्रमुखहरूका तर्फबाट प्रा.डा. ज्ञानबहादुर कार्की, प्राध्यापकहरूका तर्फबाट प्राध्यापक संघका सभापति प्रा.डा. वेदनाथ शर्मा, कर्मचारी संघका तर्फबाट नवनियुक्त सभापति नवराज बास्तोला, अवकाशप्राप्त प्राध्यापकहरूका तर्फशबाट प्राध्यापक सुरेन्द्रबहादुर भारीजु र अवकाशप्राप्त कर्मचारीहरूका तर्फशबाट राधादेवी कार्की हुनुहुन्थ्यो ।  

समारोहमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । दीर्घसेवा सम्मानबाट सम्मानित प्राध्यापकहरूमा सह–प्राध्यापक गोविन्दमणि भण्डारी, सह–प्राध्यापक इन्द्रप्रसाद शर्मा, प्रा.डा. पुष्पराज शर्मा, सह–प्राध्यापक डा. नरहरि उपाध्याय गौतम, सह–प्राध्यापक गोविन्दप्रसाद शर्मा, सह–प्राध्यापक डा. नरेन्द्रनारायण झा र सह–प्राध्यापक शैलेन्द्रकुमार मल्लिक हुनुहुन्थ्यो ।

समारोहमा त्रिविबाट हालै अवकाशप्राप्त गर्नुहुने प्राध्यापकहरू प्राध्यापक सुरेन्द्रबहादुर भारीजु, सह–प्राध्यापक प्रकाशमान गुभाजू, सह–प्राध्यापक रामगोपाल ढेवाजू, उप–प्राध्यापक टंकप्रसाद शर्मा पौडेल, उप–प्राध्यापक देवराज चालिसे, सह–प्राध्यापक विष्णुप्रसाद पराजुली, उप–प्राध्यापक धनपति सुवेदी र सह–प्राध्यापक टेकबहादुर गुरुङलाई विदाई तथा सम्मान गरिएको थियो ।

त्यसैगरी समारोहमा त्रि.वि.बाट हालै अवकाशप्राप्त गर्नुहुने कर्मचारीहरू काशिनाथ अधिकारी, अमरबहादुर थापा, प्रेमबहादुर केसी, तीर्थमाया जलारी, हरिशंकर शाह, धर्मबहादुर उदास, राधादेवी कार्की, निलकुमारी गुरुङ र माधवप्रसाद ताम्राकारलाई पनि विदाई तथा सम्मान गरिएको थियो ।

समारोहमा “शेर बहादुर–पूर्ण कुमारी छात्रवृत्ति”, “मुक्तिध्वज–सूर्य कुमारी जोशी छात्रवृत्ति” र “कृष्ण–भारती छात्रवृत्ति”द्वारा विभिन्न संकायका विद्यार्थीहरूलाई उक्त वृत्ति प्रदान समेत गरिएको थियो ।

वार्षिकोत्सवको उपलक्ष्यमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीका प्रतिनिधीहरूबाट शुभकामना मन्तब्य समेत दिइएको थियो ।

सहायक क्याम्पस प्रमुख बसन्त पराजुलीले स्वागत मन्तब्य, सहायक क्याम्पस प्रमुख महेन्द्र आलेले धन्यवाद ज्ञापन र अर्का सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Published by: Administration
Published on 2017-09-02

Download Full Text