Prithvi Narayan Campus, Pokhara, Nepal

पृथ्वीनारायण क्याम्पस अन्तरगतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ३–दिने “वैज्ञानिक अनुसन्धान तथा ई–लर्निङ कार्यशाला गोष्ठी”को समुद्घाटन

त्रि.वि.–पृ.ना.क्या., जेष्ठ १२ — पृथ्वीनारायण क्याम्पस अन्तरगतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा “वैज्ञानिक अनुसन्धान तथा ई–लर्निङ कार्यशाला गोष्ठी”को आजदेखि शुरुवात भयो । गोष्ठी ३ दिनसम्म चल्नेछ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी र पोखरा–लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले संयुक्त रुपमा गमलाको बिरुवामा पानी हाली सो कार्यशाला गोष्ठीको समुद्घाटन गरिएको थियो ।

उद्घाटन सत्रको अध्यक्षता प्रा.डा. अक्कलदेव मिश्रले गर्नु भएको थियो भने प्रा.डा. चन्द्रबहादुर थापाले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रमको संचालन डा. रामजीबन यादवले गर्नुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै सहायक क्याम्पस प्रमुख अधिकारीले की–नोट दिने क्रममा यो तीन–दिने गोष्ठीले यस अध्ययन संस्थानमा अध्यापन गर्ने प्राध्यापकहरु र अध्ययन गर्ने विद्यार्थीहरुमा आमूल परिवर्तन ल्याउने विचार व्यक्त गर्नुभयो ।  वहाँले यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा पृथ्वीनारायण क्याम्पस पश्चिमाञ्चल क्षेत्रमा आकर्षणको ठलो हुनेछ भन्नुभयो ।

शुभकामना मन्तव्य दिदै पोखरा–लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत पौडेलले पृथ्वीनारायण क्याम्पसका प्राध्यापकहरुले नेपालमा संघीयताको अभ्यास गर्ने क्रममा यस प्रदेश नं. ४ को उच्च शिक्षाको क्षेत्रमा ठूलो योगदान दिनेछ भन्नुभयो । “पृथ्वीनारायण क्याम्पसलाई पोखरा–लेखनाथ महानगरपालिकाको अवधारणाअनुसार विश्वविद्यालयमा परिवर्तन गर्नुपर्ने महशूस गरि यसबारे बृहत योजना भईरहेको छ,” वहाँले थप्नुभयो ।

त्यसैगरि, स्वागत मन्तव्य दिने क्रममा प्रा.डा. चन्द्रबहादुर थापाले अनुसन्धान विश्वविद्यालयको आत्मा भएको धारणा व्यक्त गर्नुभयो र भन्नुभयो, “नयाँ पाठ्यक्रम पढाउनका लागि प्राध्यापकहरु आफूलाई परिष्कृत गर्दै प्रतिष्प्रर्धी बनाउनुपर्छ ।”  
 
त्यसैगरि, शुभकामना मन्तव्य दिने प्राध्यापकहरुमा प्रा.डा. वेदनाथ शर्मा, सह–प्रा. रामगोपाल ढेवाजू र सह–प्रा. हुतराज शर्मा पनि हुनुहुन्थ्यो ।

उद्घाटन सत्रको समापन गर्दै सो गोष्ठीका अध्यक्षसमेत रहेका सो सत्रका सभाध्यक्ष प्रा.डा. मिश्रले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयमा परिवर्तन गरि यस संघीय क्षेत्रको शैक्षिक उत्कृष्तताको केन्द्र बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

सो उद्घाटन सत्रपश्चात सोही अध्ययन संस्थानका प्राध्यापकहरु डा. अक्कलदेव मिश्र, डा. विकासकुमार केसी र डा. रामजीवन यादवले वैज्ञानिक अनुसन्धान र ई–लर्निङसम्बन्धी छुट्टाछुट्टै कार्यपत्रमा प्रस्तुती दिनुभएको थियो ।

पृथ्वीनारायण क्याम्पस अन्तरगतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गोष्ठीको आयोजना गरेको थियो भने गोष्ठी सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), पृथ्वीनारायण क्याम्पस प्रशासन र सोही अध्ययन संस्थानका सह–प्रा. रामगोपाल ढेवाजूले संयुक्त रुपमा आर्थिक सहयोग गर्नुभएको थियो ।
    
गोष्ठीमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका करीब ६० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।    

 

Published by: Institute of Sc. & Tech
Published on 2017-05-26

Download Full Text