Prithvi Narayan Campus, Pokhara, Nepal

 Blog



गुणस्तरीय शिक्षाका लागि सेमेस्टर प्रणाली: त्रिभुवन विश्वविद्यालय र यसका चुनौती

डा. गिरधारी दाहाल

Published on 2015-12-07

एक्काइशौं शताब्दीमा विज्ञान र प्रविधि एवम् सूचना र सञ्चार क्षेत्रमा भएको विकासलाई नेपालमा भित्र्याउन गुणस्तरीय प्रतिस्पर्धामा खारिन सक्ने शिक्षा आवश्यक हुन्छ । यस्तो गुणस्तरीय जनशक्ति उत्पादन गर्न नेपालको गौरव बोकेको त्रिभुवन विश्वविद्यालयले उच्च जनशक्ति सेमेस्टर प्रणालीका माध्यमबाट उत्पादन गर्ने जमर्को गरेको छ। यस प्रणालीमा नियमित पठन पाठन, नयाँ ज्ञानको प्रवाह, पाठ्यक्रमको निरन्तर सुधार, पढ्दै बढ्दै जाने सिद्धान्तका आधारमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिन्छ।

विषय प्रवेश
एक वर्षमा चार वटा परीक्षा हुने प्रणालीलाई Quarter System भनिन्छ। त्यसैगरी तिनवटा परीक्षा हुने प्रणालीलाई Trimester System भनिन्छ। वार्षिक रूपमा दुईवटा परीक्षा हुने प्रणालीलाई Semester System भनिन्छ (Longman Dictionary, 2000)। साथै वर्षमा एक मात्र परीक्षा हुने प्रणालीलाई वार्षिक शैक्षिक प्रणाली Yearly Academic System भनिन्छ। सेमेस्टर प्रणालीमा एक शैक्षिक वर्षलाई दुई सेमेस्टरमा विभाजन गरिएको हुन्छ। यसरी एक वर्षलाई दुई सेमेस्टरमा विभाजन गरी परीक्षा सञ्चालन गरिन्छ भने त्यसलाई सेमेस्टर प्रणाली भनिन्छ। सेमेस्टर प्रणाली एउटा परीक्षा प्रणाली मात्र नभएर शिक्षा प्रणाली हो। यो प्रणालीमा पठन पाठन प्राध्यापक केन्द्रित भन्दा विद्यार्थी केन्द्रित हुन्छ (दाहाल, २०७१)। यस प्रणालीमा अध्ययन अध्यापन र अनुसन्धान, परीक्षाफल नियमित र छिटो छरितो रूपमा प्रकाशित गरिन्छ। विभिन्न विषयलाई विभिन्न क्रेडिट आवरका आधारमा योजना बनाई अनुसन्धानका आधारमा अध्ययन अध्यापन गरिन्छ। वार्षिक परीक्षा प्रणालीमा पाठ्यक्रम एउटाले बनाउने, पाठ्यपुस्तक एउटाले लेख्ने, अर्कोले जाँचेर विद्यार्थीको भविष्य निर्धारण गरिएको हुन्छ। यो प्रणालीमा व्याख्यान विधि, घोकाउने किसिमको शिक्षण पद्धति र वर्षभरी अध्ययन गरेको विषयवस्तु वर्षको अन्तमा तीन चार घण्टामा परीक्षा लिने पद्धतिले विद्यार्थीको सहि मूल्याङ्कन हुन नसक्ने भएकाले सेमेस्टर प्रणाली विकास भएको हो। सेमेस्टर शिक्षा प्रणालीमा सिकाई र पृष्ठपोषण दुबै हुन्छ। विद्यार्थीको क्षमता, उसका कमि कमजोरी प्राध्यापकलाई थाहा हुन्छ। प्राध्यापकबाट सहयोग, सल्लाह र सुझाव समयमा विद्यार्थीलाई दिने भएकाले दीगो र गुणस्तरीय बनाउन सकिन्छ। यो प्रणालीमा विद्यार्थी आफुलाई गुणस्तरीय प्रतिस्पर्धामा उभ्भाउन सफल हुन्छन्। यो लेखमा गुणस्तरीय शिक्षाका लागि सेमेस्टर प्रणाली त्रि.वि.र यसका चुनौती वारेमा व्याख्या विश्लेषण गरिएको छ।

सेमेस्टर प्रणाली
सामान्यतया अन्तर्राष्ट्रिय प्रचलन अनुसार सेमेस्टर प्रणालीमा ४ क्रेडिट आवरको हप्तामा ६ घण्टा, ३ क्रेडिट आवरको हप्तामा ५ घण्टा, २ क्रेडिट आवरको हप्तामा ३ घण्टा विभिन्न विधिद्वारा विद्यार्थीहरूलाई पठनपाठन गरिन्छ। एक सेमेस्टर सिस्टमा प्रति क्रेडिट आवरको कोर्सलाई १६ घण्टाको समयमा पुरा गर्ने गरिन्छ। यसरी ४ क्रेडिट आवरको ६४ घण्टा प्रति सेमेस्टर, ३ क्रेडिट आवरका लागि ४८ घण्टा प्रति सेमेस्टर र २ क्रेडिट आवरका लागि ३२ घण्टा प्रति सेमेस्टर विभिन्न विधिद्धारा पठनपाठन गराइन्छ (अधिकारी, २०७१)। यस प्रणालीमा निश्चित कोटामा प्रवेश परीक्षा लिइ मेरिटका आधारमा विद्यार्थी भर्ना गरिन्छ। विद्यार्थी मुल्याङ्कनको कुल भारलाई आन्तरिक परिक्षण र अन्तिम सेमेस्टरमा विभाजन गरी गर्ने गरिन्छ। विद्यार्थीले विभिन्न सेमेस्टर परीक्षामा प्राप्ताङ्कलाई अक्षर गणना प्रणाली Grade Point Scale र अन्तिम प्रतिफललाई एकीकृत अक्षर प्रणाली Cumulative Grade Point Average (CGPA) मा देखाइन्छ (अधिकारी, २०७१)।

त्रि.वि. र सेमेस्टर प्रणाली
२०२८ सालको नयाँ शिक्षा प्रणालीले उच्च शिक्षामा सेमेस्टर प्रणालीको नीति ल्याएको थियो। सो उच्च शिक्षामा सेमेस्टर प्रणालीको नीति अनुरूप त्रिभुवन विश्वविद्यालयले २०२९÷२०३० सालदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली सञ्चालन गरेको थियो। सेमेस्टर प्रणाली राम्रोसंग सञ्चालन हुन नसकेको भनी २०३६ सालको विद्यार्थी आन्दोलन पश्चात् सेमेस्टर प्रणाली खारेज गर्ने निर्णय गरियो। तथापि इञ्जिनियरिङ, चिकित्साशास्त्र, कृषि तथा पशुविज्ञान र वन विज्ञानमा क्षेत्रमा भने सेमेस्टर प्रणाली कायमै राखिएको थियो र यद्यपि कायमैे छ। त्रि.वि. अन्र्तगतका एम.फिल कार्यक्रमहरूमा र व्यवस्थापन सङ्काय अन्र्तगत सञ्चालित कार्यक्रमहरू BBA, BIM, BHM, BTTM, BPA, BBM कार्यक्रम सेमेस्टर प्रणाली अनुसार सञ्चालन भएका छन् (अधिकारी, २०७१)। त्रि.वि.का विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, कानुन सङ्काय र शिक्षाशास्त्र सङ्कायहरूमा २०३८ सालदेखि सेमेस्टर प्रणाली खारेज गरी उच्च शिक्षामा समेत वार्षिक प्रणालीमा सञ्चालन गरिएको थियो। नेपाल संस्कृत विश्वविद्यालय अन्तरगत वार्षिक प्रणाली सञ्चालन गरिएको थियो। यसरी त्रि.वि.ले प्राविधिक शिक्षामा सेमेस्टर प्रणाली कायमै राखी साधारण शिक्षामा वार्षिक प्रणाली सञ्चालन गरेको थियो। त्रि.वि.ले त्रिभुवन विश्वविद्यालय कीर्तीपुर क्याम्पसलाई Center of Excellency को रूपमा विकास गर्ने (भट्टराई, २०६९)। त्रि.वि. अन्तरगतका सम्पूर्ण क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गर्ने नीति अनुरूप गतवर्ष (२०७०) देखि कीर्तिपुर क्याम्पसमा सेमेस्टर प्रणाली सञ्चालन गरेको थियो। पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयले स्थापनाकालदेखि सेमेस्टर प्रणाली सञ्चालन गरेका छन्ं। सेमेस्टर प्रणालीका अवगुण भन्दा धेरै गुण भएका कारणले संसारका प्राय सबै मुलमा लोकप्रिय बनेको छ।

त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा पुरानो, ठूलो विश्वविद्यालय हो। नेपालको उच्च शिक्षाको इतिहासमा यो एउटा सिङ्गो इतिहास रहेको छ। त्रि.वि. ले आफ्नो स्थापनाकालदेखि नै आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक तथा प्रशासनिक क्षेत्रको समयानुकुल विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्दै आइरहेको छ (महर्जन, २०७१)। देशमा उपलब्ध प्राकृतिक एवम् मानवीय स्रोत साधनको अधिकतम उपयोग गरी अग्रगामी परिवर्तन, सहभागितामूलक विकासमा यस विश्वविद्यालयले समयानुसार गुणस्तरीय शिक्षा र नविन अनुसन्धान कार्यबाट दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। यो विश्वविद्यालयबाट उत्पादित जनशक्तिले देश भित्र मात्र होइन विदेशी विश्वविद्यालय र अन्य क्षेत्रमा समेत ख्याती कमाएको छ। यसरी देश विदेशमा समेत आफ्नो पहिचान बनाएको विश्वविद्यालयको जनशक्तिले देशका अन्य विश्वविद्यालयको समेत नेतृत्व गरी उच्च शिक्षाको क्षेत्रमा विषेष योगदान पु¥याएको छ। त्रि.वि. उच्च शिक्षाको गौरव हो (अधिकारी, २०७१ः५)। यो विश्वविद्यालयले शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि शैक्षिक क्षेत्रमा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ। नेपालको धरोहर यस विश्वविद्यालयले स्वदेशमा मात्र नभै विश्वमा समेत नेपाली सभ्यताको पहिचानलाई उजागर गरेको छ।

त्रिभुवन विश्वविद्यालयको एक केन्द्रीय क्याम्पस सहित ६० आङ्गिक क्याम्पसहरू रहेका छन्। यो विश्वविद्यालयले १०५३ भन्दा बढि क्याम्पसलाई सम्बन्धन दिएको छ (अधिकारी, २०७१ः७)। त्रि.वि. को ५५ वर्ष लामो इतिहासमा यसले थुप्रै उकाली ओरालीहरू पार गरेको छ, काँचुलीहरू फेरेको छ। २०७० सालदेखि यस विश्वविद्यालयले केन्द्रीय क्याम्पसका सम्पूर्ण सङ्काय तथा विषयहरूको अध्ययन अध्यापन सेमेस्टर प्रणाली अन्र्तगत सञ्चालन गरेको छ र अहिलेसम्म आइपुग्दा पहिलो सेमेस्टर पुरा भएर दोस्रो सेमेस्टर सुरू भइसकेको स्थिति छ। अब पहिलो सेमेस्टरका लागि नयाँ भर्ना लिने क्रममा त्रि.वि.केन्द्रीय क्याम्पस छ भने यसै वर्षबाट काठमाडौं उपत्यका भरिका २२ वटा क्याम्पसका स्नातकोत्तर कार्यक्रममा सेमेस्टर प्रणाली लागु गर्ने निर्णय गरी तयारीमा रहेको थियो तापनि विद्यार्थी संगठनहरूको विरोधका कारण यस वर्ष उपत्यका भरिका २२ क्याम्पसमा यो प्रणाली लागु हुन सकेन। आगामी पाँच वर्ष भित्र सबै क्याम्पसमा देशव्यापी रूपमा यो प्रणाली सञ्चालन गर्ने त्रि.वि.को योजना रहेको छ। यस परिप्रेक्षमा त्रि.वि. केन्द्रीय क्याम्पसमा सेमेस्टर प्रणाली अन्र्तगतको पहिलो सेमेस्टरको समीक्षा विश्लेषण गरिएको छ।

सेमेस्टर प्रणालीका सकारात्मक पक्ष
सेमेस्टर प्रणालीसँगै विश्वविद्यालय तहको अध्ययन अध्यापन नियमित भएको छ। यसले प्राध्यापकहरूलाई नियमित बनाएको छ, विद्यार्थीहरूलाई नियमित बनाएको छ र पाठ्यक्रममा तोकिएकै क्रेडिट आवर अनुसार पठनपाठन संभव भएको छ। यो प्रणालीमा दक्ष प्राध्यापकको चयन, नियमित पठन पाठन, नयाँ ज्ञानको प्रवाह, आन्तरिक मूल्याङ्कनमा चुस्तता, विद्यार्थीले कमीकमजोरी सुधार्ने अवसर, पाठ्यक्रमको निरन्तर सुधार, थोरै समयमा धेरै ज्ञान प्रदानको अवसर, पढदै बढदै जाने सिद्धान्त, परीक्षाको त्रासबाट मुक्त बनाएको छ (वाग्ले, २०७१)। विद्यार्थीहरूको हकमा नियमित हाजिरीको व्यवस्था लागु भएको छ। बोर्ड परीक्षामा सामेल हुन पाउनका लागि ८० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ र हाजिरी बापत परीक्षामा प्रत्येक विषयमा पाँच अङ्क दिने व्यवस्था गरिएको छ।

कक्षाकोठामा विद्यार्थीको आकार (४०) व्यवस्थित भएको छ। विद्यार्थी सङ्ख्या हेरेर एक भन्दा बढी सेक्सन बनेका छन्। यसले कक्षाकोठालाई अनुशासित बनाउन सघाएको छ। पठनपाठनलाई प्रभावकारी र स्तरीय तुल्याएको छ। हरेक प्राध्यापकले आफ्नो विद्यार्थीलाई राम्रोसँग चिन्न र उसको शैक्षिक अवस्था पहिल्याउन संभव भएको छ। विद्यार्थीहरूलाई अभ्यासका लागि नियमित रूपमा असाइन्मेन्ट, प्रोजेक्ट वर्क, मामिला अध्ययन, कार्यमुलक अनुुसन्धान, सेमिनार आयोजना, प्रिजेन्टेसन वर्क, टेस्ट परीक्षा, टम पेपर राइटिङ, आदि कार्य भएका छन्। त्यसलाई विद्यार्थीहरूले गरेर पनि आएका छन् जसले गर्दा विद्यार्थीहरूमा विषयवस्तुको राम्रो ज्ञान हासिल भएको छ। प्राध्यापकहरूले शिक्षण सामाग्रीहरू संकलन गरी तथा विषय वस्तुमा अप टु डेट भई प्राध्यापन गरेका छन् जसले प्राध्यापकहरूको विषयवस्तु सशक्त हुन पुगेको छ। साथ साथै सेमेस्टर प्रणालीमा लेक्चर मेथोड भन्दा पार्र्टीसिपेटरी मेथोड, डिस्कसन मेथोड लगायत अन्य मेथोडका कारणले गर्दा विद्यार्थी केन्द्रित पठन पाठन संभव भएको छ। यो प्रणालीमा पाठ्यक्रम निरन्तर सुधार हुन्छ न की ५÷१० वर्षसम्म एउटै पाठ्यक्रम रहदैन। नयाँ नयाँ ज्ञान कक्षा कोठामा लान प्राध्यापकलाई दिइएमा गुणस्तरीय शिक्षा विद्यार्थीले पाउदछन्। वर्षभरी प्राध्यापक–विद्यार्थी अन्तरक्रियालाई यो प्रणालीले निरन्तरता दिन्छ र सिकाइ संभव हुन्छ। प्राध्यापकले निष्पक्षता कायम गराउनु पर्दछ। जसले गर्दा नविन ज्ञानको खोजी र अनुसन्धानमा अग्रसरता गराउँदछ र गुणस्तरमा बृद्धि गराउदँछ।

वार्षिक प्रणालीमा विद्यार्थीले परीक्षा आउनु भन्दा २–३ महिना अघिबाट मात्र पढ्न सुरू गर्ने, पुस्तक पसलमा पाइने नोट तथा पुराना प्रश्नपत्रहरूलाई आधार बनाएर परीक्षाको तयारी गर्ने परिपाटी रहेकोमा सेमेस्टर प्रणालीमा त्यो सबै हटेको छ। विद्यार्थीले पढाइ सुरू भएको दिनबाटदेखि नै नियमित रूपमा पढ्न थालेका छन्। पाठ्यक्रमको सन्दर्भ सूचीमा दिइएका सन्दर्भ सामाग्री खोजी खोजी पढ्ने बानीको विकास भएको छ। पुस्तकालयको प्रयोग बढेको छ। आन्तरिक परीक्षा र बोर्ड परीक्षा दुवै समयमै सम्पन्न भएको छ परीक्षाफल समयमा प्रकाशित भएको छ।

अहिले सेमेस्टर सिस्टमको पहिलो सेमेस्टरको परीक्षामा विद्यार्थी उत्तीर्ण सख्या औसतमा ७५ प्रतिशत रहेको देखिन्छ। यस अघि वार्षिक परीक्षामा विद्यार्थी उत्तीर्ण औसतमा ३०–३५ प्रतिशत हुने गरेको थियो। उदाहरणको लागि पहिलो सेमेस्टरमा इतिहास, राजनीतिशास्त्र, बौद्ध अध्ययन, संस्कृति, हिन्दी लगायतका विषयमा शत प्रतिशत विद्यार्थीहरू उत्र्तिण भएको देखिन्छ। अङ्ग्रेजी विषयमा ९१ प्रतिशत, अर्थशास्त्रमा ८६ प्रतिशत, समाजशास्त्रमा ७० प्रतिशत, जनसङ्ख्यामा ६४ प्रतिशत, ग्रामिण विकासमा ७० प्रतिशत, पत्रकारितामा ६३ प्रतिशत, भाषा विज्ञानमा ५० प्रतिशत, र सबैभन्दा कम शिक्षा शास्त्रमा ४० प्रतिशत उत्र्तिण भएको कुरा त्रि.वि. को तथ्याङ्कबाट देखिन्छ (त्रि.वि.डीन कार्यालय)। समग्रमा गुणस्तरिय शिक्षाको लागि औसत ७५ प्रतिशत विद्यार्थी उत्र्तिण हुनु राम्रो हो। त्रि.वि.ले चिकित्साशास्त्र, इञ्जिनियरिङ, फरेष्ट्री र एग्रिकल्चरमा प्राविधिक क्षेत्रको गुणस्तरिय शिक्षा प्रदान गरेजस्तै मानविकी, शिक्षा, विज्ञान प्रविधि, व्यवस्थापन र कानुनको क्षेत्रमा पनि गुणस्तरीय शिक्षा कायम गर्न सके यो विश्वविद्यालयको गरिमा झन उच्च हुनेछ। त्रि.वि.ले उत्पादन गर्ने जनशक्ति गुणस्तरिय बनाइ दश जोड दुईको अनिवार्य शिक्षा सम्पुर्ण नागरिकले पाउने व्यवस्था राज्यले गर्नु पर्दछ।

यो प्रणालीमा शिक्षण शुल्क प्रति सेमेस्टर दश हजारको हाराहारीमा रहेको छ। जसलाई अहिलेको सन्दर्भमा न्यूनतम नै मान्नुपर्ने हुन्छ र सामान्य आर्थिक हैसियत भएका विद्यार्थीको पहँुचमा पनि सेमेस्टर प्रणाली रहेको देखिन्छ। कक्षाको पठनपाठनको माध्यम अङ्ग्रेजी बनाइएको छ। विषयवस्तुको सहज बुझाइका लागि प्राध्यापकहरूले अन्य भाषाको समेत प्रयोग गरेका छन्। जसले गर्दा नेपाली माध्यमबाट पढ्दै आएका विद्यार्थीहरूले पनि विषयवस्तुलाई सहज रूपमा बुझ्न सकेका छन्। परीक्षामा भने सबै परीक्षार्थीले अङ्ग्रेजी माध्यमबाट दिनुपर्छ। जसले गर्दा अन्र्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा त्रि.वि. विद्यार्थी पनि प्रतिस्पर्धी हुन सक्ने स्थितिको निर्माण भएको छ। त्यस्तै पठनपाठन अनावश्यक राजनीतिक प्रभावबाट मुक्त भएको छ र सबै विद्यार्थी आफ्नो पढाइमा बढी केन्द्रित भएको पाइएको छ।

सेमेस्टर प्रणालीका दुर्बल पक्ष
सेमेस्टर प्रणालीका केही कमीकमजोरीहरू तथा अभ्यासहरू सच्याएर अघि बढ्नुपर्ने ठाउँहरू पनि यस प्रणालीभित्र देखिएका छन्। ती हुन्ः कीर्तिपुर केन्द्रीय क्याम्पसका सबै विभागहरूमा पढाइको गुणस्तर एउटै रहेको छैन। केही विभागहरूले यसलाई अत्यन्त प्रभावकारी ढङ्गले चलाएका छन् भने केही विभागहरूमा यसको प्रभावकारी सञ्चालनमा कमी कमजोरीहरू देखिएका छन्। सबै प्राध्यापकहरू जिम्मेवार रूपमा विषयवस्तुको राम्रो तयारीसहित कक्षामा नियमित रूपले उपस्थित नभएको स्थिति पनि देखिन्छ। कतिपय विषयमा असाइन्मेन्ट, आन्तरिक परीक्षा औपचारिकताका लागि मात्र गरिएको देखिन्छ। विद्यार्थी हाजिरी शत प्रतिशत कायम हुन सकेको देखिदैन। एउटा विद्यार्थीले अर्को अनुपस्थित विद्यार्थीको हाजिरी गरिदिने वा पहिलो पिरेडमा हाजिरी भएपछि अरू पिरेडको कक्षा विद्यार्थीले नलिने प्रवृत्ति पनि केही हदसम्म देखिन्छ। केही विभागहरूमा आन्तरिक परीक्षा, परीक्षाको मूल्य मान्यता अनुरूप नभई खुकुलो रूपमा सञ्चालन भएको देखिन्छ। बोर्ड परीक्षामा एउटा कक्षामा सबै विद्यार्थी एउटै विषयको रहेको र विद्यार्थी सिट प्लान त्यति व्यवस्थित हुन सकेको छैन्। त्यस्तै, सबै विभागहरूका परीक्षा स्तरीय र व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन्। कतिपय परीक्षाहरू परीक्षाको न्यूनतम मर्यादा पनि पूरा नभई सञ्चालन गरिदा विद्यार्थीमा अनियमितताको प्रवृत्तिले प्रश्रय पाएको देखिन्छ। प्राध्यापकले निष्पक्षता कायम गराउन नसकेमा चाकडी प्रथाले पश्रय पाउदछ। मूल्याङ्कन वस्तुगत नभएर विषयगत हुनपुग्छ।

सेमेस्टर प्रणालीमा पनि पाठ्यक्रम पूरानै वार्षिक प्रणालीको जस्तो रहेको छ। पाठ्यक्रम जति वैज्ञानिक, व्यवस्थित र समसामयिक हुनुपर्ने हो हुन सकेको छैन। सेमेस्टर प्रणाली चलाउन विभागहरूको भौतिक पूर्वाधार अपुग देखिन्छ। प्राध्यापकहरूको व्यवस्थापन तथा अन्य प्राज्ञिक तयारीहरू पनि अपुग देखिन्छ। यस प्रणालीमा पनि विश्वविद्यालय तहको शिक्षा अनुसन्धान केन्द्रित हुन सकेको देखिन्न। विद्यार्थीहरूबाट वार्षिक प्रणाली र सेमेस्टर प्रणाली अन्र्तगतको शिक्षामा तात्विक अन्तर नदेखिएको गुनासो पनि आउन थालेको छ।

यद्यपि समग्रमा भन्नुपर्दा सेमेस्टर प्रणालीको शिक्षा बढी गुणस्तरीय र वैज्ञानिक हो। सेमेस्टर प्रणालीसँगै विद्यार्थीहरूमा त्रि.वि.को पठनपाठन प्रति विश्वास बढेको छ। विद्यार्थीहरू आफ्नो पढाइबाट पहिलेभन्दा बढी सन्तुष्ट पनि देखिन्छन् तर यसको प्रभावकारी सञ्चालनका लागि विश्वविद्यालय प्रशासन, विभाग, प्राध्यापक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो क्षेत्रबाट गम्भीर ध्यान पु¥याउनु पर्ने हुन्छ। यहाँ सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो दायित्व निर्वाह गरेमा अवश्यक गुणस्तरिय जनशक्ति उत्पादन गर्न सकिन्छ र त्रि.वि.को शैक्षिक उन्नयनमा योगदान पुग्ने छ।

सेमेस्टर प्रणालीका चुनौतीहरू
सेमेस्टर प्रणालीमा प्रवेश परीक्षाका आधारमा विद्यार्थीहरू भर्ना कोटा अनुसार मेरिटका आधारमा हुन्छ। २० प्रतिशत विद्यार्थी समावेशी पक्रिया अनुरूप भर्ना हुन्छन्। प्रत्येक विषयको आन्तरिक सेमेस्टरको आन्तरिक मुल्याङ्कन ४० प्रतिशत र सेमेस्टर परीक्षाको परीक्षा भार ६० प्रतिशत हुन्छ। भौतिक पुर्वाधार, प्राध्यापक ट्रेर्नर, मानवीय र अन्य श्रोतको उपलब्धता तर्फ ध्यान पु¥याउन आवश्यक छ। अहिले मुलुक संक्रमणकालीन अवस्थामा रहेको छ। यो स्थितिमा राज्यका हरेक क्षेत्र सहमतिका आधारमा चलाउनु पर्ने अवस्था सिर्जना भएको छ। यो समस्याबाट विश्वविद्यालयहरू पनि मुक्त रहन सकेनन्। त्रिभुवन विश्वविद्यालय पनि त्यही आधारमा चलेको छ। त्रि.वि. का पदाधिकारी नियुक्तिमा भाग बण्डाको स्थितिले गर्दा योग्य पदाधिकारी नियुक्त हुन सकेका छैनन्। यो सेमेस्टर प्रणाली आफैमा राम्रो प्रणाली हो। तथापि वर्तमान विश्वविद्यालय नेतृत्वले विश्व वैकंको विशेष अनुदानमा बल्ल यो कार्यक्रम शुरू गरेको छ। विश्वविद्यालयमा नियुक्त हुने उपकुलपतिले विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान दिन सक्ने सक्षम जनशक्ति उत्पादन गर्ने योजना बनाउनु पर्ने हो एक्काइशौं शताब्दीको विज्ञान र प्रविधिलाई प्रयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्नु पर्ने हो। संसारको इतिहासमा विश्वविद्यालयका शोध अनुसन्धानले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा दुरगामी प्रभाव पारेको छ। विश्वविद्यालयकै अनुसन्धानबाट निकालिएका निष्कर्षवाट राज्यका सामाजिक, आर्थिक, राजनीतिक नीति निर्माण गरी देशको समग्र विकास हुनु पर्ने हो। विश्वविद्यालयबाट उत्पादित जनशक्ति राज्यका विभिन्न निकाय राजनीतिक, प्रशासनिक, सेना र प्रहरी लगायतका क्षेत्रमा रहेर राज्यको नीति निर्माण गर्दछन्। विश्वविद्यालयका प्राध्यापकहरूले गरेका शोधका आधारमा नविन सिद्धान्त प्रतिपादन हुन्छन्। सुशासन र प्रशासनका नविन सिद्धान्त तयार हुन्छन्। तर नेपालमा रहेका विश्वविद्यालयहरूका केही प्राध्यापकहरूले विश्वविद्यालयहरूलाई बदनाम बनाउने काम गरेका छन्। राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुने र गुणस्तरीय शिक्षा भन्दा राजनीतिक निर्देशनमा अख्तियारको दुरूपयोग गर्ने कार्य भएको छ। यसको बेलैमा रोकथाम गरी प्राध्यापकहरूमा रहेको क्षमता र योग्यता कुशलतापूर्वक प्रयोग गरी विश्वविद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम गर्दै अघि बढेमा त्रिभुवन विश्वविद्यालयलाई पनि विश्वका ख्याति प्राप्त विश्वविद्यालयको दाँजोमा उभ्याउन सकिनेछ।

निष्कर्ष
शिक्षा मानव जीवनको लागि नभई नहुने अनिवार्य तत्व हो। शिक्षा र ज्ञान विनाको जीवन अधुरो हुन्छ। त्यसैले राज्यले हरेक नागरिकलाई जीवन उपयोगी, निःशुल्क र अनिवार्य दश जोड दुईु सम्मको शिक्षा दिनुपर्छ। शिक्षा पाउनु सबै नागरिकको नैसर्गिक हक हो। शिक्षाले मात्र असल र सभ्य नागरिकको पहिचान दिलाउन सक्दछ। उच्च शिक्षा गुणस्तरीय हुनुपर्छ। गुणस्तरीय शिक्षाले मात्र एक्काइशौं शताब्दीको विज्ञान र प्रविधि सूचना र सञ्चारको विश्वमा प्रतिस्पर्धामा उत्रन सक्दछ। अहिले त्रि.वि.ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा दिन त्रि.वि. केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेको छ। त्रि.वि.ले वर्तमानमा देखिएका चुनौतीहरूको सामना गर्दै भविष्यमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सेमेस्टर प्रणाली सञ्चालन गरेको छ। गुणस्तरीय शिक्षाका माध्यमबाट उच्चस्तरीय जनशक्ति उत्पादन गरी राष्ट्रको गरिमालाई उच्च राख्नु त्रि.वि. को दायित्व हो।

सन्दर्भ सामग्रीहरू
अधिकारी, देवराज (२०७१), त्रि.वि. मा सेमेस्टर प्रणालीका चुनौती एवम् अवसरहरू, त्रिभुवन विश्वविद्यालय, विशेषङ्क २०७१, ५५ औं वार्षिक दिवस, काठमाडौः त्रिभुवन विश्वविद्यालय।
अधिकारी, भीमराज (२०७१), त्रिभुवन विश्वविद्यालयको गरिमाः एक अनुभुति, त्रिभुवन विश्वविद्यालय, विशेषङ्क २०७१, ५५ औं वार्षिक दिवस, काठमाडौः त्रिभुवन विश्वविद्यालय।
दाहाल, गिरधारी (२०७१), त्रिभुवन विश्वविद्यालय र सेमेस्टर प्रणाली, गोरखापत्र दैनिक, काठमाडौं, २०७१ पौष १७ गते, गोरखापत्र संस्थान।
महर्जन, हिराबहादुर (२०७१), शुभकामना मन्तव्य ५५ औं वार्षिक दिवश, काठमाडौंः त्रिभुवन विश्वविद्यालय।
भट्टराई, बाबुराम (२०६८), विश्वविद्यालय क्याम्पसमा उत्कृष्टता केन्द्र निर्माणः सम्बन्धी सम्बोधन, प्रेस्पेक्टिभ अन हाइयर एजुकेशन, जरनल अफ टुटा युनिभर्सिटी क्याम्पस, काठमाडौंः त्रिभुवन युनिभर्सिटी टिचरस एसोसेशन युनिभर्सिटी क्याम्पस युनिट।
वाग्ले, मनप्रसाद (२०७१), सेमेस्टर सफलताको सूत्र, कान्तीपुर दैनिक, काठमाडौः २०७१ पौष २८ गतेः कान्तीपुर पब्लीकेशन।
Tribhuvan University 2014/2015 (2014). Tribhuvan University.
Longman Dictionary of Contemporary English (2000). India: Longman Group Ltd.
http://www.from australia.gov.au
(डा. दाहाल राजनीतिशास्त्र विभाग, त्रिविवि, पृथ्वीनारायण क्याम्पस, पोखरामा उप–प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ)