Prithvi Narayan Campus, Pokhara, Nepal

 Blog



नयाँ विश्वविद्यालय स्थापनाका सन्दर्भमा पृथ्वीनारायण विश्वविद्यालयका चुनौती र मार्गचित्र

प्रा.डा. विश्वकल्याण पराजुली

Published on 2016-03-15

सन्दर्भ र विषय प्रवेश
समावेशी राज्यको पुनर्निर्माण र मुलुकको सङ्घीय पुनःसंरचनाका लागि राष्ट्रिय बहस भइरहँदा दलहरूबीच संविधानसभाद्वारा मुलुकलाई सङ्घीयतामा रूपान्तरण गर्ने सहमति भइसकेको छ। सामाजिक अग्रगमन, समुन्नत र सुदृढ नेपाल राज्यको सङ्घीय संरचना निर्माणका लागि प्रत्येक सचेत नागरीकले नयाँ भूमिकाको खोजी गर्नुपर्ने देखिन्छ। अतः परिवर्तित सन्दर्भमा नेपालमा उच्च शिक्षाको संरचना र विश्वविद्यालयहरूको भूमिकामा समेत परिमार्जन र रूपान्तरण गर्नुपर्ने बाध्यात्मक आवश्यकतालाई नकार्न सकिदैन। वर्तमान परिस्थितिमा उच्च शिक्षामा संलग्न विश्वविद्यालयहरूका सामु नवीन सम्भावना, जिम्मेवारी र चुनौतीहरू थपिएका छन्।

यसै सन्दर्भमा राज्यकै सर्वाधिक विद्यार्थी अध्ययनरत पश्चिमाञ्चल विकासक्षेत्रको कास्की पोखरामा अवस्थित पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय संरचनामा रूपान्तरण गरी एउटा राजकीय विश्वविद्यालय स्थापना गर्न सकियोस भन्ने आशयले प्रस्तुत अवधारणा अघि सारिएको छ। आफ्नो स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा समाजका महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थितिमा आयोजित आजको प्राज्ञिक अन्तरक्रियाले पृथ्वीनारायण क्याम्पसलाई नै यस क्षेत्रको बौद्धिक चेतनाको थलोको रूपमा विकास गर्न सघाउ पुरयाउनेछ भन्ने आशासहित नयाँ विश्वविद्यालय स्थापनाको सन्दर्भमा भावी पृथ्वीनारायण विश्वविद्यालयको मार्गचित्र विषयक मस्यौदा कार्यपत्रमार्फत आफ्ना विचारहरू प्रस्तुत गर्नपाउँदा खुशी लागेको छ। साथै आजको कार्यक्रमले नेपाल राज्यको सङ्घीय र समावेशी चरित्रको शैक्षिक पुनःसंरचनाको खाका निर्माणमा बौद्धिक समुदायका तर्फबाट यथेष्ट योगदान हुने आशा गर्दछु। प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालयको मार्गचित्र निर्धारण र कार्यपत्र परिमार्जनमा छलफलका सहभागीहरूले बहुमूल्य सुझाउहरू दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।

शिक्षा: आरम्भ र उद्देश्य
सामान्यतः शिक्षा शब्दले आमने सामनेको अन्तरक्रिया, श्रवण–वाचनक्रिया, सामूहिक कार्य, व्यक्तिगत अध्ययनजस्ता कक्षाकोठाकै क्रियाकलापलाई बुझाए तापनि शिक्षालाई बृहत् र व्यापक अर्थमा बुझ्न सकिन्छ। आधुनिक औद्योगिक समाजको स्थापनापूर्वको अवस्थामा अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तालाई जीविकाका लागि शिकार, कन्दमूल, पाक प्रविधिजस्ता सीप सिकाउनु शिक्षाको उद्देश्य थियो भने अहिलेको उत्तर–उत्तर आधुनिक युगमा बिनाकक्षाकोठा, शिक्षक/प्राध्यापकसँग परिचय र देखभेट नै नभई प्राप्त गरीने अनलाइन शिक्षासमेतलाई लिन सकिन्छ। समाजशास्त्रीय विश्लेषणका लागि शिक्षालाई औपचारिक र अनौपचारिक प्रक्रियाबाट हासिल हुने सिकाइका रूपमा पनि लिन सकिन्छ।

सामान्यतया अनौपचारिक शिक्षा स्वतःस्फूर्त रूपमा बिनायोजना स्वाभाविक रूपमा हासिल गरीन्छ। औपचारिक शिक्षामा निश्चित लक्ष्य प्राप्तिका लागि योजनाबद्ध प्रयत्नबाट व्यवस्थित रूपमा क्रमबद्ध ज्ञान, सीप, भाव र अन्र्तदृष्टिहरू हासिल गरीन्छन्। आजको युगमा शिक्षालाई मानिसको जन्मसिद्ध मौलिक अधिकारका रूपमा स्वीकारिएको छ। शिक्षा व्यक्तिको सामाजिकीकरणको उत्तम माध्यम हो यसैका कारण एउटा जैविक–मानव सामाजिक–मानवमा रूपान्तरित भएको हुन्छ। समाजशास्त्री गिडिन्स (२००१) ले प्रत्यक्ष निर्देशनद्वारा एउटा पुस्ताबाट अर्को पुस्तामा गरीने ज्ञानको प्रसारण नै शिक्षा हो भन्दछन्। त्यस्तै गरी ग्रोलियर डोउब्री (२०००) का अनुसार शिक्षा एउटा प्रक्रिया वा प्रक्रियाको परिणाम हो जसबाट एउटा व्यक्तिले ज्ञान, सीप, भाव र अन्तर्दृष्टिहरू हासिल गर्दछ। जसमा ज्ञान, अनुराग र मनोवैज्ञानिक सीप र दक्षतासमेत पर्दछन्। युगको आवश्यकतानुसार सामाजिक अग्रगतितर्फ उन्मुख मानिस एउटा सामाजिक प्राणी भएकाले आफ्नो सीप तथा क्षमता अभिवृद्धिका लागि सदेैव नयाँ ज्ञान प्राप्तिका लागि तत्पर रहेको हुँदा जन्मदेखि मृत्युपर्यन्त शिक्षा हासिल गरीरहन्छ। जोमेटीन सम्मेलन (१९९०) र डकार विश्व शिक्षा मञ्च (२०००)ले सबैका लागि अनिवार्य र गुणस्तरिय शिक्षामा थप जोड दिएको पाइन्छ। सामाजिक संवृद्धि, अग्रगमन, प्रगति र विकासका लागि ओैपचारिक शिक्षालाई व्यवस्थित गर्ने क्रममा प्रारम्भिक बालविकास शिक्षा, प्राथमिक शिक्षा, माध्यामिक शिक्षा, उच्च माध्यमिक शिक्षा, विशेष शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालय शिक्षाजस्ता शिक्षण पद्धतिहरूको उदय, विकास र प्रसारण भएको पाइन्छ। प्रस्तुत कार्यपत्रमार्फत उच्च शिक्षाका सन्दर्भलाई प्रष्ट्याउन खोजिएको छ।

शिक्षा: इतिहास र महत्व
शिक्षाको इतिहास खोतल्नेक्रममा शिक्षालाई विद्यालय, कलेज, विश्वविद्यालय र तीनमा हुने अध्ययन–अध्यापन, परीक्षा र पाठ्यक्रममा मात्र सीमित पार्न सकिदैन। प्राचीन ढुँङ्गे युगको कविला समाजमा घुमन्ते–फिरन्ते अवस्थाको मानवका लागि शिकार गर्ने, कन्दमूल खोज्ने कला, पाक तथा भोजनको ज्ञानजस्ता विषयमा लोकपरम्परा, जनश्रुति, सवाई आदिबाट प्राप्त हुने ज्ञान नै शिक्षा थियो, जुन कुरा अभिभावक, मातापिता र अग्रजबाट सिकिन्थ्यो। पहिलो सहस्राब्दीपूर्व अध्ययन मानिसको जीवनका लागि आवश्यक र उपयोगी थिएन, नयाँ ज्ञानका लागि अग्रजहरूको देखासिकी, नक्कल र अनुकरण नै पर्याप्त थियो।

ईसापूर्व दोस्रो सहस्राब्दीमा चीनमा शिक्षाका लागि विद्यालयहरू अस्तित्वमा थिए भने भारतमा वैदिक परम्पराको थालनी ई.पू. १५–१० औं शताब्दीमा भैसकेको थियो। त्यस्तै गरी ईसापूर्व ११००–८०० मा ग्रीकमा शिक्षाको मौखिक परम्परा आरम्भ भएको थियो भने ईसापूर्व ७०० मा ग्रीक नगरराज्य स्र्पाटा र एथेन्समा खेलकुद र सैन्यतालिमका लागि विशिष्ट शिक्षाका लागि ख्याति कमाइसिकेका थिए। औपचारिक शिक्षा समय र सम्पत्ति भएका केबल सीमित व्यक्तिहरूका लागि मात्र उपलब्ध थियो। सन् १४५४ मा छापाखानाको आविष्कारपूर्व पाठ्यपुस्तक अत्यन्त दुर्लभ र महङ्गा थिए जसका कारण औपचारिक उच्च शिक्षा धेरैका लागि सम्भव थिएन। औद्योगिकीकरण र शहरीकरणको विस्तारले शिक्षाको विकासमा ठूलो फड्को मारेको थियो। उन्नाईसौं शताब्दीको पूर्वार्धतिर समेत अधिकांश मानिसहरू उच्च शिक्षाका लागि विश्वविद्यालयहरूमा जादौथे तर जब औद्योगिक अर्थतन्त्रले विकास गर्न थाल्यो तब शिक्षित, दक्ष र क्षमतावान् कामदार उत्पादनका लागि विशेषज्ञतायुक्त शिक्षाको आवश्यकता महसुस गरीयो। अविकसित मुलुकका कृषि तथा पेशागत व्यवसाय गर्ने समाजमा शिक्षालाई परिवारकै जिम्मामा सुम्पिएको भए तापनि औद्योगिकीकरण, वसाइसराइँ र गैरकृषिक्षेत्रको विकासका कारण शिक्षाको जिम्मेवारी परिवारवाट विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूमा सरेको छ। आधुनिक युगमा आएर रोजगारीमा प्रवेशका लागि शिक्षा र योग्यता एउटा महत्वपूर्ण प्रवेशद्वार बन्न पुगेको छ। शिक्षालयहरूले मानिसको बौद्धिकता र दृष्टिकोणलाई फराकिलो बनाउनाका साथै नयाँ पुस्तालाई आर्थिक जीवनमा प्रवेश गर्नका लागि समेत तयार गरेको पाइन्छ। आजको युगमा आधारभूत आवश्यकता मानिएको शिक्षाले मानिसका बौद्धिक, तार्किक, मनोबैज्ञानिक एवं शारिरिक सम्भावनाहरूलाई परिपक्व बनाउछँ। अझ विश्वविद्यालय शिक्षाले त समाजका लागि आवश्यक दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।

विश्वविद्यालयीय शिक्षा
विश्वका विभिन्न मुलुकमा उच्चस्तरको दक्ष जनशक्ति उत्पादन गर्न स्थापित विश्वविद्यालयहरू आ–आफ्नै मुलुकको कानुनद्वारा निर्देशित छन् तर पनि ती सबै विश्वविद्यालयहरूलाई एउटा साझा परिभाषाले परिचित गराउन सकिन्छ । डेभिड (१९६८) का अनुसार ज्ञानको अग्रगमनका लागि कार्यरत संस्थाहरू नै विश्वविद्यालय हुन। यिनीहरूले विभिन्न प्रकारका विद्वतापूर्ण, वैज्ञानिक र पेशेवार क्षेत्रको शिक्षा, तालिम र परीक्षा सञ्चालन गर्ने कार्य गर्दछन्, साथै विभिन्न प्रकारका उपाधि प्रदान गर्ने र आफ्ना विद्यार्थी एवं प्राध्यापकहरूलाई मौलिक अनुसन्धानको अवसर प्रदान गर्दछन्। यस्ता विश्वविद्यालयहरू प्राज्ञिक गतिविधि, प्राध्यापनकार्य र व्यावसायिक मर्यादाअनुरूपको नियुक्तिका लागि स्वतन्त्र हुनुका साथै आफ्नो संस्थाका नीतिहरूमाथि प्राज्ञिक नियन्त्रण कायम गरेका हुन्छन्।

पूर्वीय सभ्यतामा नालन्दा विश्वविद्यालय, तक्ष्यशिला विश्वविद्यालयजस्ता विश्वविद्यालयहरू अस्तित्वमा रहेको थाहा पाइए तापनि हाल ती विश्वविद्यालयहरू अस्तित्वमा नरहेका हुँदा तिनका बारेमा चर्चा गर्न सकिएको छैन। मध्ययुगीन विश्वविद्यालयहरूले कानुन, धर्मशास्त्र र चिकित्सा विज्ञानको अध्ययन अनुसन्धानमा जोड दिएको भए तापनि १९ औं शताब्दीको आरम्भबाट मानविकी र प्राकृतिक विज्ञानका विभिन्न विधाहरूको अध्यापन र अनुसन्धानमा विविधताको थालनी भएको थियो। बाह्रौ शताब्दीमा आएर मात्र आधुनिक युरोपमा पृथक् अस्तित्वसहित विश्वविद्यालयको जन्म भएको पाइन्छ। सम्भवत बोलोग्ना विश्वविद्यालय नै पहिलो धर्म निरपेक्ष विश्वविद्यालय थियो र यसले कानुनमा विशिष्टता हासिल गरेको थियो। आधुनिक विश्वविद्यालयहरू स्थापनाको क्रममा नेपल्स विश्वविद्यालय १२२४, टुलोज विश्वविद्यालय १२२९, पेरिस विश्वविद्यालय १२५३ मा अस्तित्वमा आइसकेका थिए। स्थीर सामाजिक संरचनाको निर्माण, नियमित आयस्रोत, पूर्वाधार विकास, जनशक्ति र नियम निर्माणसँगै विश्वविद्यालयहरू बौद्धिक परम्पराको विस्तार र निरन्तरतामा सफल बन्न सके। जसको परिणामस्वरूप १४ देखि १८ औं शताब्दीसम्ममा विश्वविद्यालयहरू राज्यप्रणालीकै अङ्गका रूपमा विकसित भइसकेको पाइन्छ। पन्ध्रौं शताब्दीको उत्तराद्र्धसम्म आइपुग्दा युरोपमा ७९ वटा विश्वविद्यालयहरू स्थापना भै सकेका थिए। त्यस्तै गरी गणितमा ख्याति कमाउन सफल जर्मन युनिभर्सिटी अफ हेल (१६९४), गोटिङ्गटन युनिभर्सिटी (१७३७), चिकित्सा विज्ञानमा ख्याति प्राप्त युनिभर्सिटीअफ इडनवर्ग (१५८३), अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रिज युनिभर्सिटी, हार्भड युनिभर्सिटी आदिको स्थापनाले पनि उच्च शिक्षाको आवश्यकता, औचित्य र मूल्यमा अझै वृद्धि हुन पुग्यो।

विश्वविद्यालय शिक्षाका परिवर्तित प्रवृत्तिहरू
सामाजिक संरचनाको जटिलतासँगसँगै उच्च शिक्षाको माग, औचित्य र मूल्यमासमेत वृद्धि भएको छ। प्राचीन एथेन्स, रोम र अलेक्जेड्रि«याबाटै उच्च शिक्षाका लागि महाविद्यालय तथा विश्वविद्यालय स्थापनाको परम्परा थालिए तापनि आजपर्यन्त अमेरिकी र बेलायती विश्वविद्यालयहरूले नै धेरैको ध्यान खिँच्न सफल भएका छन्। बीसौं शताब्दीको उत्तराद्र्धबाटै स्रोत–साधनसम्पन्न विकसित मुलुकहरूमा उच्च शिक्षाका लागि स्थापित विश्वविद्यालय, महाविद्यालयहरूमा नयाँ प्रवृत्तिको प्रयोग भइसकेका छन्। खास गरी वेलायतबाट आरम्भ भएको खुला विश्वविद्यालय (Open University) को परम्परा र अमेरिकाबाट सुरु गरीएको अनलाईन विश्वविद्यालय (Online University) को परम्पराले महाविद्यालय एवं विश्वविद्यालयको परम्परागत परिभाष र कार्यक्षेत्रलाई झनै जटिल बनाइदिएको छ। सन् १९७१ मा स्थापित वेलायतको खुल्ला विश्वविद्यालय वेलायतकै सबैभन्दा ठूलो विश्वविद्यालय मानिन्छ जसले दूरशिक्षाको माध्यमबाट उच्च शिक्षा प्रदान गर्दै आएको छ। यही विश्वविद्यालयले पहिलोपटक वी.वी.सी.को टेलिभिजन प्रसारणको माध्यमबाट आफ्ना विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्न थालेको थियो। विज्ञान र प्रविधिको विकासको परिणामस्वरूप इन्टरनेटको माध्यमबाट प्राप्त सूचना र प्रविधिलाई प्रयोग गर्दै नयाँ पुस्ताका शैक्षिक प्रतिष्ठानहरू अनलाइन विश्वविद्यालयका रूपमा विकास भइ रहेका छन्। सन् १९८९मा अमेरिकामा स्थापित फोनिस्क विश्वविद्यालय University of Phoenix परम्परागत विश्वविद्यालयलाई चुनौती दिदै स्थापना गरिएको पहिलो अनलाइन विश्वविद्यालय हो। यहाँका विद्यार्थीहरू परम्परागत कक्षाकोठाको सटृा विद्युतीय हुलाक बाकसको माध्यमबाट आफ्ना गृहकार्य तथा लेखहरू वुझाउने गर्दछन्। फोनिस्क विश्वविद्यालयको अनलाइन क्याम्पसमा ६८००० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। यस्ता विश्वविद्यालयहरू मुनाफाका लागि समेत तयार भएका छन्, एपोलो कम्युनिकेसनको स्वामित्वमा संचालित फोनिस्क विश्वविद्यालयले तीन महिनाको अवधिमा १२.८ मिलियन डलर नाफा कमाएर विश्वविद्यालय सञ्चालनमा नयाँ प्रवृत्तिको सूत्रपात गरीसकेको पाइन्छ (पराजुलीः २०६६)। उच्च शिक्षामा सरकारी लगानी अनुदानमा व्यापक कटौतीसँगै प्रतिविद्यार्थी लागतमा वृद्धि हुदै गएको वर्तमान अवस्थामा अन्तराष्ट्रिय बजारमा शिक्षाको औद्योगिकीकरण भएको छ र विश्वविद्यालयहरू उद्योगका रूपमा स्थापित हुने परम्पराको विकास भएको पाइन्छ।

दोस्रो विश्वयुद्ध पछिको अवधिमा विश्वभर महाविद्यालय र विश्वविद्यालयहरूको सङ्ख्यामा द्रुततर वृद्धि भएको छ। सन् १९९०को दशकमा अमेरिकाका करिब ३००० महाविद्यालयहरूमा ३ करोड विद्यार्थी अध्ययनरत थिए। परम्परागत कक्षामा दिइने शिक्षाका अतिरिक्त इन्टर्नसीप, अनुसन्धान तथा शोधकार्यलाई समेत गम्भीर रूपमा लिने गरेको पाइन्छ। शिक्षामा सरकारी लगानीको सटृा अध्ययन ऋणको मान्यता स्थापित भएको छ। वेलायतजस्तो मुलुकले समेत विश्वविद्यालयहरूमा घटदो सरकारी लगानीका कारण संकट भोगेका छन् जस्को परिणाम स्वरूपछात्रवृत्ति र अध्ययन अनुदानको अभावमा ६५ प्रतिशत विद्यार्थीले अध्ययन ऋण लिएका छन्। यो सङ्ख्या सन् १९९० मा जम्मा २८ प्रतिशत मात्र थियो (गिडिन्स २००१: ५०३)। अक्सफामको अध्ययन प्रतिवेदन (बाटकिन्सः २०००) अनुसार शिक्षामा उत्तर–दक्षिणका बीचमा ठूलो खाडल सिर्जना भएको देखिन्छ। उत्तरका विकसित मुलुकमा प्रतिविद्यार्थी ४६३६ डलर र दक्षिणका विकासोन्मुख मुलुकमा जम्मा १६५ डलर राज्यले लगानी गरेको देखिन्छ। उच्च शिक्षामा न्यून तथा सिमान्त आय भएकाहरूको पहुँचमा वृद्धि हुन सकेको छैन। नेपाल जीवनस्तर सर्वेक्षणले आर्थिक उन्नतिसँगै उच्च शिक्षामा पनि पहुँच वृद्धि भएको तथ्यलाई संकेत गरेको छ जस अनुसार आर्थिक स्तर उच्च भएका २० प्रतिशतको उच्च शिक्षामा ८८ प्रतिशत पहुँच छ भने बाँकी ८० प्रतिशतको केवल १२ प्रतिशत मात्र पहुच देखिन्छ (बरालः २०६६)।

नेपालमा उच्च शिक्षा
त्रिचन्द्र कलेजको स्थापना (१९१८) सँगै नेपालमा उच्च शिक्षाको थालनी भए पनि आधुनिक नेपालको पहिलो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना सन् १९५९ मा भएको थियो। त्रिभुवन विश्वविद्यालयकै आंङ्गिक क्याम्पसहरूलाई अलग्याएर महेन्द्र संस्कृत विश्वविद्यालय (सन् १९८६) को स्थापनापछि नेपालमा पनि बहुविश्वविद्यालयको अवधारणा भित्रिएको थियो। उच्च शिक्षालाई व्यवस्थित गर्ने क्रममा सन् १९९४ मा विश्वविद्यालय अनुदान आयोगको स्थापना भएको थियो। हालसम्म नेपालमा निम्नानुसार विश्वविद्यालय र सो सरहका निकाय अस्तित्वमा रहेका छन्:

  1. त्रिभुवन विश्वविद्यालय, काठमाडौं
  2. नेपाल संस्कृत विश्वविद्यालय, दाङ्ग
  3. काठमाडौं विश्वविद्यालय, धुलिखेल
  4. पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर
  5. पोखरा विश्वविद्यालय, पोखरा
  6. विपीकोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरान
  7. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, काठमाडौं
  8. लुम्बिनी विश्वविद्यालय, लुम्बिनी
  9. पाटन स्वास्थ्य् विज्ञान प्रतिष्ठान, पाटन
  10. कृषि तथा वन विश्वविद्यालय (प्रस्तावित)
  11. मध्यपश्चिम विश्वविद्यालय(प्रस्तावित)
  12. सुदुरपश्चिम विश्वविद्यालय (प्रस्तावित)
  13. राजर्षि जनक विश्वविद्यालय (कानून मन्त्रालयमा विधेयक तयारी भइरहेको)
स्रोतः जोशी (२०६३), भटृराई (२००६) र पराजुली (२०६६) बाट उद्धरित

हालसम्म नेपालमा विद्यार्थी र कार्यक्रम नै नभएको लुम्बिनी विश्वविद्यालयदेखि कूल विद्यार्थी सङ्ख्याको ९० प्रतिशत विद्यार्थी, र करिब २७०० पाठ्यक्रम पढाईने (उपाध्याय २०५९) त्रिभुवन विश्वविद्यालयसम्म र पूर्णतः सरकारी अनुदानमा चलेका विश्वविद्यालय देखि निजी स्रोतमा आधारित विश्वविद्यालयहरूले प्रवीणता प्रमाणपत्र तहदेखि विद्यावारिधि तहसम्म विभिन्न विषयहरूमा अध्ययन अध्यापनका कार्यक्रम सञ्चालन गरेका छन्। राज्यले नै वहुविश्वविद्यालयको धारणा अंङ्गिकार गरेपछि नेपालमा विभिन्न विश्वविद्यालय खोल्ने होडबाजी नै चलेको थियो जुन होडबाजीमा सवल, सक्षम र दृढ ईच्छाशक्ति सहितको नेतृत्व तथा सहकार्यको अभावमा पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने दशकौ पुरानो प्रयत्न निष्काम हुन पुगेको व्यहोरा स्मरण योग्य छ। यतिवेला मध्यमश्चिम तथा सुदुरपश्चिम क्षेत्रमा व्यापक जनसहभागिता र जनउत्साहका साथ नयाँ राजकीय विश्वविद्यालय स्थापनाको पहल भइरहेका वखत कृषि तथा वन विश्वविद्यालयको समेत विधेयक तयार भई संविधानसभा वा संसदमा प्रस्तुत भएबाट पृथ्वीनारायण विश्वविद्यालय स्थापनाको स्थानीय पहलले पुनःजीवन प्राप्त गर्न पुगेको छ।

पोखरामा उच्च शिक्षाको आरम्भ र पृथ्वीनारायण क्याम्पस
पोखरा र यसको सेरोफेरोमा स्थानीय पहलमा वि.सं. २०१७ मा पृथ्वीनारायण क्याम्पसको स्थापनासँगै उच्च शिक्षाको आरम्भ भएको पाइन्छ। पृथ्वीनारायण क्याम्पसको स्थापनापूर्व उच्च शिक्षाको लागि यस क्षेत्रका विद्यार्थीहरू देशबाहिर जाने गरेको इतिहास साक्षी छ। आरम्भमा २ जना अध्यापक र १३ जना प्रवीणता प्रमाणपत्र तहका विद्यार्थीहरूबाट स्थानीय पहलमा स्थापना भएको पृथ्वीनारायण क्याम्पस वि.सं. २०३० बाट त्रि.वि.को आङ्गीक क्याम्पसका रूपमा सञ्चालित हुँदै २०५६ सालमा क्लष्टर विकास कार्यक्रम अन्र्तगत त्रि.वि. कै विकेन्द्रीकरण ऐनबाट संचालित थियो भने २०६४-६५ बाट स्वायत्तताका सवालमा वहश भइरहेको छ। वर्तमान सम्म आई पुग्दा पोखरामा प्रवीणता प्रमाणपत्र तह (प्लस टु) सरहको अध्यापन गराईने दर्जनौ उच्च माध्यामिक विद्यालय स्थापना भएकाछन जसले वर्षेनी हजारौ शास्त्री तहमा अध्ययन गर्न चाहने विद्यार्थी उत्पादन गरीरहेका छन्। त्रि.वि.का आंङ्गिक र सम्वन्धन प्राप्त निम्नलिखित क्याम्पसहरूबाट उत्तिर्ण हजारौं शास्त्रीहरू आचार्य तहमा अध्ययनको प्रतीक्षामा रहन्छन्।

    त्रि.वि.अन्र्तगत पोखरामा क्रियाशील उच्च शिक्षाका केन्द्र, विषयगत दक्षता र कार्यक्रमहरूः
  • पृथ्वीनारायण क्याम्पस (कानून, विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकीमा प्रवीणता प्रमाणपत्र देखि स्नातकोत्तर तहसम्म)
  • वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस (वन विषयमा प्रवीणता प्रमाणपत्र देखि स्नातकोत्तर तहसम्म)
  • पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (इन्जिनियरिङ विषयमा प्रमाणपत्र डिप्लोमा देखि स्नातक तहसम्म)
  • चिकित्साशास्त्र क्याम्पस (नर्सिङ्ग विषयमा प्रवीणता प्रमाणपत्र देखि स्नातक तहसम्म)
  • जनप्रिय क्याम्पस, सिमलचौर (मानविकी, विज्ञान र व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र देखि स्नातक तहसम्म)
  • कालिका क्याम्पस, रामबजार (मानविकी र व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र देखि स्नातक तहसम्म)
  • कन्या क्याम्पस, नदिपुर (मानविकी र व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र देखि स्नातक तहसम्म)
  • लेक सिटी कलेज, गैह्रापाटन (मानविकी स्नातक तह)
  • शिक्षा महाविद्यालय, फुलबारी (शिक्षा स्नातक तह)
  • माउण्टअन्नपूर्ण क्याम्पस, फुलबारी (विज्ञान प्रमाणपत्र–स्नातक तहसम्म)
  • गुप्तेश्वर महादेव क्याम्पस, छोरेपाटन ( शिक्षा र व्यवस्थापन स्नातक तह)
  • पोखरा मल्टीमोडल क्याम्पस, पोखरा (व्यवस्थापन स्नातक तह)
  • पोखरा वहुमुखी क्याम्पस, नयांबजार (व्यवस्थापनमा र मानविकी प्रवीणता प्रमाणपत्र देखि स्नातक तहसम्म)
  • गौरी शंकर क्याम्पस, हेमजा (शिक्षा स्नातक तह)
  • लक्ष्मी आदर्श क्याम्पस, शिशुवा (शिक्षा स्नातक तह)
  • जनप्रकाश क्याम्पस, भण्डारढिक (व्यवस्थापन र मानविकी)
  • माछापुच्छ्रे शिक्षा क्याम्पस, नागडाँडा (शिक्षा स्नातक तह)
उल्लिखित क्याम्पसहरूका अतिरिक्त पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र विदेशका विश्वविद्यालयहरूसँग सम्वन्धनप्राप्त दर्जनौं क्याम्पसहरू पोखराक्षेत्रमा क्रियाशील छन्। यी मध्ये पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान र पोखरा विश्वविद्यालयबाट आचार्यतह उत्तीर्ण गर्ने सयौं विद्यार्थीहरू प्रत्येक वर्ष एम फिल र पिएचडी का लागि बाहिर गईरहेका छन्। तालिका २ मा उल्लिखित क्याम्पसहरू तथा अनुसूची (१) मा उल्लिखित त्रि.वि.अन्र्तगतका पश्चिमाञ्चल क्षेत्रमा क्रियाशील ७९ क्याम्पसहरू मध्ये कार्यक्रम, विषयगत दक्षता, पूर्वाधार र अनुभवका आधारमा पृथ्वीनारायण क्याम्पस सर्वाधिक अग्रणी छ। अतः मुलुकलाई सङ्घीय ढाचामा रूपान्तरण गर्दाका वखत उल्लिखित क्याम्पसहरू मध्ये पृथ्वीनारायण क्याम्पसलाई प्रज्ञिक स्वायत्तता सहित विश्वविद्यालयमा रूपान्तरण गर्नुको विकल्प छैन। निम्न लिखित पूर्वाधारहरूमा हुने सामान्य परिवर्तन (वृद्धि) पनि विश्वविद्यालयमा रूपान्तरणका लागि पर्याप्त आधार हुन सक्दछ। (यसै गोष्ठीका अर्का कार्यपत्र प्रस्तोता डा.कृष्ण के.सी.को कार्यपत्रले पृथ्वीनारायण क्याम्पसको विकासक्रम, पूर्वाधार र वर्तमान अवस्थालाई थप स्पष्ट पार्नेछ)
    पृथ्वीनारायण क्याम्पसको सङक्षिप्त विवरणः
  • स्थापना वर्ष - १७ भाद्र २०१७
  • त्रि.वि.कै आंङ्गिक क्याम्पसको मान्यता - २०३०
  • क्लष्टर विकास काार्यक्रम तथा विकेन्द्रीकरणमा प्रवेश - २०५६
  • स्वायत्तता सम्वन्धी वहशको आरम्भ - २०६४/६५
  • भौगोलिक विस्तार (क्षेत्रफल) - ४९८.५ रोपनी
  • कुल विद्यार्थी सङ्ख्या - करिब १८०००
  • अध्यापन हुने विषयहरू - ३४
  • अध्यापन हुने अनुमानित पाठ्यक्रमहरू (कोर्षहरू) - ५०० भन्दा वढी
  • विषयगत विभागहरू - २८
  • स्नातकोत्तर कार्यक्रम - १८ वटा
  • वार्षिक रूपमा सम्पन्न हुने अनुसन्धानहरू (विद्यार्थीका सोधकार्य) - २५० अनुमानित
  • कक्षाकोठाहरू - ७४
  • भवनहरू (पुस्तकालय, चमेनागृह, छात्रावास, प्रयोगशाला, संङग्रालय) - २१
  • प्रशासनिक भवनहरू, विभागिय कक्ष आदि - ५
  • परीक्षा हल र सभाकक्षहरू - निर्माणाधिन
  • वार्षिक नियमित बजेट - (त्रि.वि.अनुदान ७५३ लाख, शुल्क १६५ लाख, भाडा १८ लाख) ९३६ लाख
  • वार्षिक बजेटमा त्रि.वि.अनुदान र स्थानीय स्रोतको अनुपात - ८४ः१६
  • नियमित तलव भत्ता - (मासिक ५५१० हजार) ८३३ लाख
  • विद्युत, पानी, फोन, इन्धन, भ्रमण आदि - ३२.५ लाख
  • वर्तमान जनशक्ति (शिक्षण तर्फ ५६१ र प्रशासन तर्फ १३१) - ६९२
  • विद्यावारिधी गरेका प्राध्यापक - ४० जना
  • पुस्तकालय - (२०३३।७।१८ क्षेत्रीय पुस्तकालयका रूपमा स्थापित) २ लाख पुस्तक २५० पाठक क्षमता
  • अनलाईन जर्नल सुविधा (INASP मार्फत) र Digital Talking Book २०६०/६१ बाट, DTB २०६४ बाट
  • इन्टरनेट संञ्जाल सहितको फ्याकल्टी रिसोर्स सेन्टर - २०६६ बाट स्रोतः पृथ्वीनारायण क्याम्पसका विभिन्न अभिलेखहरू २०६६

पृथ्वीनारायण विश्वविद्यालय स्थापनामा पहल
दक्षिण एसियामै सवैभन्दा वढी विद्यार्थी सङ्ख्या, कार्यक्रम र पूर्वाधार भएको नेपालको विश्वविद्यालय त्रि.वि.को आंङ्गिक क्याम्पसका रूपमा संचालित पृथ्वीनारायण क्याम्पस पूर्वाधार र स्रोतका दृष्टीले दोस्रो या तेस्रो भए तापनि विद्यार्थीसङ्ख्याका दृष्टीले नेपालकै पहिलो ठूलो क्याम्पसका रूपमा परिचित छ। यहि विशेषताका कारण राष्ट्र्रिय शिक्षा आयोगको प्रतिवेदन (२०४९) ले उच्च शिक्षाको अवशरलाई सर्वसुलभ वनाउन र त्रि.वि.लाई विकेन्द्रित गर्ने उद्देश्यसहित पश्चिमाञ्चलका आङ्गिक र सम्वन्धनप्राप्त क्याम्पसहरू (अनुसूची १) सहित पृ.ना.क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्न सिफारिस गरेको थियो। उच्च शिक्षा विकास कार्यक्रमबाट सशक्त बनाईएको पृ.ना.क्याम्पसलाई विश्वविद्यालय वनाउने भनिए तापनि २०५३ सालको विधेयकले छुट्टै पोखरा विश्वविद्यालयको घोषणा गरेपश्चात वौद्धिक जगतमा एउटा निरासा उत्पन्न भयो। पुनः २०५७-५८ को वार्षिक बजेट भाषणबाट पृ.ना.क्याम्पसलाई नै पोखरा विश्वविद्यालयमा समायोजन गर्ने भन्ने तत्कालीन अर्थ मन्त्रीको अविवेकी वक्तव्यले धेरैलाई आक्रोशित समेत तुल्यायो। पोखराको स्थानीय आवश्यकता पुरा गर्नकालागि, त्रि.वि.को शैक्षिक, प्रशासनिक वोझ कम गर्नका लागि, उच्च शिक्षामा जनसहभागीता वृद्धि गर्न, प्रतिस्पर्धी जनशक्ति तयार गर्न र मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि पनि पृथ्वीनारायण विश्वविद्यालयको आवश्यकता प्रतिदिन खड्किदै गएको छ। यही आवश्यकता परिपूर्तिका लागि पोखराको स्थानीय वौद्धिक समुदाय, सरोकारवाला विद्यार्थी, प्राध्यापक आदि बाट समय समयमा पृथ्वीनारायण विश्वविद्यालय स्थापनाको औचित्य पुष्ठी गर्ने प्रयत्न हुदै आएका छन्। सुदुर पश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय एवं राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि स्थानीय सरोकारवालाहरू व्याकुल भइरहेका बखत विश्वविद्यालय अनुदान आयोगले समेत विश्वविद्यालयसम्वन्धी छाता ऐनको तयारी गरीरहेको अवसरमा आशा गरौ आजको छलफलले पृथ्वीनारायाण विश्वविद्यालय स्थापनाको पुनीत कार्यलाई मूर्त रुप दिन सक्नेछ।

अतः हालको पृथ्वीनारायण क्याम्पसले विश्वविद्यालय स्थापनाका न्यूनतम पूर्वाधारहरू जस्तैः स्थिर सामाजिक संरचना, नियमित आयस्रोत, पूर्वाधार विकास, जनशक्ति र नियमहरू सहित ज्ञानको अग्रगमन, वैज्ञानिक, पेसेवर र विद्धतापूर्ण कार्यहरू सहित पाठ्क्रम निर्माण तथा परिमार्जन, अध्यापन र कक्षा शिक्षण, परीक्षा सञ्चालन र उपाधि वितरण, इन्टर्नसिप तथा तालिम, अनुसन्धान-शोधकार्य, परामर्श सेवाजस्ता क्रियाकलापमा लामो अनुभव हासिल गर्दै आएको हुँदा यसैलाई पर्याप्त स्वायत्ततासहितको विश्वविद्यालयमा रूपान्तरणका लागि प्रस्ताव गर्न सकिन्छ। परन्तु नयाँ नेपालमा जनताको विश्ववविद्यालय (People’s New University) का रूपमा काम गर्नका लागि पृथ्वीनारायण विश्वविद्यालयका सामु केही चुनौतीहरू अवश्य विद्यमान छन्।

भावी पृथ्वीनारायण विश्वविद्यालय स्थापनाका चुनौतीहरू
नेपालका विश्वविद्यालयहरूले वर्षेनी करिब २ लाख विद्यार्थीलाई विभिन्न विषय र तहको उच्च शिक्षा प्रदान गर्ने गर्दछन् भने पोखराकै सेरोफेरोमा मात्र करिब ३० हजार विद्यार्थीहरू विभिन्न तहमा अध्ययनरत रहेको देखिन्छ। विश्वविद्यालय घोषणाको सङघारमा रहेका हामी सबैले पृथ्वीनारायण क्याम्पसको चालु संरचनामाथि विश्वविद्यालय घोषणा गर्नु पूर्व केही न्यूनतम सवालहरूमा स्पष्ट हुनु आवश्यक देखिन्छ। अतः प्रस्तुत मस्यौदामा पोखरामा स्थापना हुने राजकीय विश्वविद्यालयले सम्वोधन गर्नुपर्ने सवालहरूलाई संक्षेपमा सूत्रबद्ध गर्ने प्रयास गरेको छु।

  1. राष्ट्रिय तथा क्षेत्रीय आवश्यकताको पहिचानः
    समग्र मुलक तथा यस क्षेत्रका लागि कस्तो जनशक्ति आवश्यक छ? कतिवर्ष भित्र कस्तो जनशक्ति उत्पादन गर्ने ? जनशक्तिको खपत कहाँ र कसरी गर्ने भन्ने सवालमा स्पष्ट हुन आवश्यक छ। देशको सामाजिक–आर्थिक–सांस्कृतिक संरचना, विकासको स्तर, अन्तराष्ट्रिय प्रतिस्पर्धा आदिका आधारमा उच्च शिक्षाको राष्ट्रिय तथा क्षेत्रीय आवश्यकता पहिचान गर्नु पर्दछ। यसका लागि विश्वविद्यालयको घोषणा सँगै सर्वपक्षिय वृहद शैक्षिक सम्मेलन जरुरी छ।
  2. उच्च शिक्षाको लक्ष्य निर्धारणः
    कसलाई, कुन प्रकारको र कुन गुणस्तरको शिक्षा के का लागि एवं किन दिने भन्ने सवालमा स्पष्ट नभएसम्म विश्वविद्यालयहरूमा गरीएको लगानी व्यर्थ हुन जान्छ, त्यसैले आगामी केही दशकका लागि उच्च शिक्षाको राष्ट्रि«य लक्ष्य निर्धारण गर्नुपर्दछ। मुलुकका नागरीकहरूलाई व्यक्तिवादी वा उपभोक्तावादी शिक्षा दिने कि राष्ट्रवादी शिक्षा दिने वा अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सक्ने स्तरको शिक्षा दिने भन्ने लक्ष्यनिर्धारण नगरेसम्म नवस्थापित पृ.ना.विश्वविद्यालयले एक्काईसौ शताब्दीको दौडमा भाग लिन सक्दैन। त्यसैले वृहद शैक्षिक सम्मलेनले उठाएका सवालाई सम्वोधन हुने गरी लक्ष्य निर्धारण गरौं।
  3. मस्यौदा कार्यदल गठनको आवश्यकताः
    मुलुकमा करिब एक दर्जन विश्वविद्यालयको स्थापना र सञ्चालनबाट नेपाल बहुविश्वविद्यालयप्रणालीमा प्रवेश गरी सकेको छ। अतः अनेकतापूर्ण पाठ्यक्रमको सञ्चालन, विषयगत विशिष्टता र आधुनिक विश्व परम्परालाई अगाल्नका लागि मुलुक सङ्घीयतामा प्रवेश गर्न लागेको परिप्रेक्ष्यमा त्रि.वि.को वोझ कम गर्नका लागि पनि पोखरामा राजकीय विश्वविद्यालय (State-run University) आवश्यक भएकोले सङ्घीय सरकार (Federal Government) का मातहतमा रहने गरी पृ.ना.विश्वविद्यालय स्थापनार्थ विधान मस्यौदा तयार गरी संविधानसभा (व्यवस्थापिका संसद)मा पेश गर्नका लागि एउटा मस्यौदा कार्यदल वनाउन आवश्यक छ।
  4. प्रविधि हस्तान्तरणः
    विश्वविद्यालयका केही सीमित कार्यक्रम बाहेक समग्रमा नेपालले उच्च शिक्षामा आधुनिक प्रविधि भित्र्याउन सकेको छ्रैन। विद्यार्थी चापको तुलनामा कक्षाकोठामा आवश्यक फर्निचर, चक, डस्टरसमेत पुर्याउन नसकिरहेको वर्तमान अवस्थामा विश्वविद्यालय र महाविद्यालयस्तरको अध्ययन अध्यापन र अनुसन्धानकार्यहरूमा कम्प्युटर, मल्टिमिडिया, इन्टरनेटजस्ता सुविधा र आधुनिक विद्युतीय प्रविधिहरू भित्र्याउनु एवं सो प्रविधि सञ्चालनका लागि योग्य जनशक्ति उत्पादन कम चुनौतीपूर्ण छैन। त्यसैले पृथ्वीनारायण विश्वविद्यालयले पनि आफ्नो स्तरवृद्धिका लागि प्राविधिक साधन,स्रोत र विशेषज्ञको व्यवस्था गर्नुपर्दछ।
  5. अनुसन्धानमुखी ब्यवहारिक शिक्षामा जोडः
    प्रस्तावित विश्वविद्यालयले अनुसन्धानहरूलाई नियमित ढंङ्गले सुपरीवेक्षण गर्ने निकायको स्थापनासँगै एक्काईसौं शताब्दीको शिक्षालाई अनुसन्धानमुखी बनाउनका लागि पठनपाठन, शिक्षकको तलव र प्रशासनिक खर्चका अतिरिक्त प्राध्यापकहरूलाई अनुसन्धानका लागि छुट्टै र पर्याप्त बजेटको व्यवस्था मिलाउनु का साथै प्राध्यापकहरूलाई नियमित रूपमा अनुसन्धानकार्यमा संलग्न गराउदै अनुसन्धानपरम्पराको थालनी, विकास, विस्तार र निरन्तरताका लागि स्वायत्त अनुसन्धानकेन्द्रको स्थापना अनिवार्य देखिन्छ। स्नातकोत्तर तहमा सबै विषयहरूमा अनुसन्धान वा इन्टर्नसिपलाई अनिवार्य बनाइनुका साथै स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय आवश्यकता पुरा गराउनका लागि “स्थानीय निकाय सेवा, सामुदायिक सेवा वा समाजसेवा” जस्ता कुनै न कुनै काममा लगाई समुदाय र विद्यार्थीविचको सम्बन्धलाई दिगो र मजबुत तुल्याउनुपर्दछ।
  6. प्राज्ञिक स्वायत्तताः
    विश्वविद्यालयहरूलाई राजनीतिक तथा प्रशासनिक हस्तक्षेपबाट मुक्त नराखेसम्म गुणस्तरीय र मर्यादित उच्च शिक्षाको लक्ष्य हासिल हुन सक्दैन। नेपालका विश्वविद्यालयहरूमा हुने गरेको सत्ता राजनीतिको चरम हस्तक्षेप र अनुशासनहीनताका कारण कुनै पनि विश्वविद्यालयहरूले आशानुरूप प्रगति गर्न सकेका छैनन्। प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि विश्वविद्यालयमा प्राज्ञिक स्वतन्त्रता पहिलो अनिवार्य शर्त बन्नुपर्दछ ।
  7. जनशक्तिको पलायनः
    उच्च शिक्षाका लागि यस क्षेत्रबाट वर्षेनी हजारौंको सङ्ख्यामा विद्यार्थीहरू भारत, चीन, बंगलादेश, वेलायत, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा विदेशिनुका कारण देशले ठूलो घाटा व्यहोर्नुपरेको छ। स्वदेशी पुँजी विदेशिने र दक्ष जनशक्ति पलायन हुने क्रमलाई रोक्दै उनीहरूलाई समेत आकर्षण गर्ने शिक्षापद्धतिको विकास गर्नु पृथ्वीनारायण विश्वविद्यालयहरूका लागि गम्भीर चुनौती बन्न पुग्ने छ। त्यसैगरी पृथ्वीनारायण विश्वविद्यालयसँग आबद्ध दक्ष, तालिमप्राप्त र योग्य जनशक्तिको पलायनलाई पनि प्रभावकारी ढंङ्गबाट रोक्नुका साथै विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्नेखालका केही विशेष कार्यक्रमहरू सञ्चालन गरी योग्य, दक्ष र अनुभवी जनशक्तिलाई आकर्षण गर्नुपर्दछ।
  8. स्वतन्त्र विश्वविद्यालय सभाः
    विश्वविद्यालयका पदाधिकारीहरू विश्वविद्यालय सभाप्रति उत्तरदायी हुनका लागि सत्ता राजनीतिको छायाँबाट अलग स्वतन्त्र विश्वविद्यालय सभाको आवश्यकता पर्दछ। राजनीतिक हस्तक्षेप कायम रहेसम्म प्राज्ञिक स्वतन्त्रताको प्रत्याभूति हुँदैन अतः प्राज्ञिक स्वतन्त्रताका लागि पनि स्वतन्त्र विश्वविद्यालय सभा अपरिहार्य हुन्छ। यसका लागि पृथ्वीनारायण विश्वविद्यालय सभा गठनको प्रारम्भिक तयारी आवश्यक देखिन्छ।
  9. विद्यार्थी भर्ना, कार्यक्रम फेजआउट:
    उच्च शिक्षा सम्वन्धी राष्ट्रिय नीतिका अभावमा कुन कार्यक्रममा कति विद्यार्थी भर्ना गर्ने भन्ने स्पष्ट मार्गचित्रको समेत अभाव देखिन्छ। त्यसैले समयको मागअनुसारका विषयहरू प्रस्तावित नयाँ विश्वविद्यालयमा प्रवेश गराउनुका साथै विद्यार्थीसङ्ख्या नगण्य भएका विषयहरूलाई फेजआउट गर्दै पृथ्वीनारायण विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहदेखि माथि र यससँग आबद्ध आंङ्गिक तथा सम्वन्धनप्राप्त क्याम्पसहरूमा स्नातक तहदेखि माथिको पठनपाठन र अनुसन्धान कार्य सञ्चालन गर्नुपर्दछ। विषयगत विद्यार्थीसङ्ख्या पहिल्यै सुनिश्चित गरी प्रवेशपरीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई मात्र निजहरूले चाहेको विषयमा भर्नाको अवशर प्रदान गरी उच्च शिक्षा लिन चाहने तर प्रवेश परीक्षामा उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि वैकल्पीक उपायहरू खोजिनु पर्दछ।
  10. स्वतन्त्र सेवा आयोगको आवश्यकता:
    नेपालका विभिन्न महाविद्यालयहरूमा दबावका कारण जनशक्ति भर्ती गर्ने र अप्राज्ञिक निर्णय लादने गरीएकोमा त्यस्ता प्रवृत्तिका विरुद्ध र विश्वविद्यालय सेवाको गरीमा वृद्धिका लागि प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालयले खुल्ला प्रवेशद्वार नीति अवलम्वन गर्नु पर्दछ। यसरी खुल्ला प्रतिस्पर्धाबाट प्रवेश गराएमा पेशागत गरीमाको वृद्धि हुने कुरामा दुईमत हुदैन। तसर्थ पृथ्वीनारायण विश्वविद्यालयको घोषणा सँगै लोकसेवा आयोगबाट मान्यता प्राप्त स्वतन्त्र सेवा आयोगको गठन गरी नियुक्तिका प्रक्रियाहरू आरम्भ गरीनु पर्दछ।

पृथ्वीनारायण क्याम्पस (विश्वविद्यालय) का प्राथमिकताः
करिब २ दशक अघि देखि नै विश्वविद्यालयमा रूपान्तरण हुने सपना सजाएको पृथ्वीनारायण क्याम्पसमका सरोकारवालाहरूमा दृढ संकल्प र कार्यान्वयन गर्ने इच्छाशक्तिको अभाव देखिन्छ त्यसैले सवै भन्दा पहिले प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालयको केन्द्रीय क्याम्पस विश्वविद्यालय संरचनाको एउटा महत्वपूर्ण अंङ्ग भएका कारण पृथ्वीनारायण क्याम्पसले सार्वजनिक प्रतिबद्धता सहित निम्न लिखित वुँदाहरूलाई उच्च प्राथमिकता दिनै पर्दछ:

  • विश्वविद्यालय स्थापनाका लागि पृथ्वीनारायण क्याम्पस, यससँग आबद्ध हुन चाहने संस्थाहरू र स्थानीय एवं क्षेत्रीय विशेषताहरूको पहिचानका अतिरिक्त यसका सरोकारवालाहरूले अव स्थापना हुने विश्वविद्यालयलाई परम्परागत ढाँचामा भन्दा पनि विशिष्टीकरणतर्फ उन्मुख गराउने प्रतिवद्धता जाहेर गर्नु पर्दछ। जसका लागि नयाँ विषयक्षेत्रहरूको पहिचान र सञ्चालन गर्नुपर्ने हुन्छ। आगामी दिनमा पर्यटन विकास, ग्रामीण विकास, वातावरण विज्ञान, विकास अध्ययन, जनस्वास्थ्य, खाद्य प्रविधी, अन्तराष्ट्रिय सम्वन्ध, द्वन्द्व व्यवस्थापन एवं शान्ति अध्ययन, दर्शनशास्त्र, सामाजिक सेवा, लैङ्गिकता तथा महिला अध्ययन, अन्तराष्ट्रि«य कानून जस्ता विषयहरू क्रमिक रूपमा सञ्चालनमा ल्याउन पर्दछ।
  • पृथ्वीनारायण विश्वविद्यालयलाई विशिष्टटीकरण तर्फ लैजानका लागि हाल संचालित कार्यक्रमहरूलाई आवश्यकताअनुरूप परिमार्जन गरी निरन्तरता दिँदै नयाँ तथा सम्भाव्य थप कार्यक्रमहरूको खोजी गर्दै व्यवहारमुखी, अनुसन्धानमुलक र रोजगारमुखी पाठ्यक्रम निर्माण गरी राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय शैक्षिक/व्यावसायिक आवश्यकता पुरा गर्ने लक्ष्य निर्धारण गर्नु पर्दछ। यस्तो लक्ष्य निर्धारण गरेपछि पृथ्वीनारायण विश्वविद्यालयमा आवश्यकता अनुसारका अध्ययन संस्थान तथा संकायहरूको पुर्नगठन गर्नुपर्दछ।
  • हाल कार्यरत जनशक्तिको सहि परिचालन, शशक्तिकरण, समायोजन र स्थानान्तरणको कठोर गृहकार्य गर्नुपर्दछ। जसअन्र्तगत विभिन्न दृष्टीले अदक्ष जनशक्तिलाई स्वैच्छिक अवकाश, युवा जनशक्तिलाई तालिम, अनुसन्धान र उच्च अध्ययनको अवसर दिदै अल्पकालीन र मध्यकालीन योजना निर्माण गर्नुपर्दछ। जनशक्ति विकासका लागि ठोस र प्रभावकारी कार्यक्रम मार्फत फ्याकल्टी एक्सचेन्ज (आदानप्रदान), विषय अद्यावधिक, पुर्नःताजगीकरण, तालिम तथा अभिमुखीकरण कार्यक्रमहरूलाई व्यवस्थित तुल्याउनुपर्दछ।
  • विश्वविद्यालयको प्रमुख पूर्वाधारका रूपमा रहने भुभाग विस्तारका लागि ठोस पहलको आवश्यकता छ। हाल पृथ्वीनारायण क्याम्पस रहेको भूभागमा प्रस्तावित विश्वविद्यालयको केन्द्रीय क्याम्पस सञ्चालनको विकल्प छैन। विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा कार्यालय, डिनकार्यालयहरू तथा विभिन्न अध्ययन संस्थान तथा संकायहरूका लागि पोखरा र यसको आसपासका क्षेत्रमा जग्गा प्राप्तिका लागि सरोकारवाला जिल्लाविकास समितिहरू, नगर पालिकाहरू, गा.वि.स.हरू र संभाव्य दाताहरूसँगको सहकार्य आवश्यक देखिन्छ। साथै स्थानीय रैथाने पराजुलीहरूबाट प्राप्त पृ.ना.क्याम्पसको हालको ४९८.५ रोपनी जमिन प्रस्तावित विश्वविद्यालयको केन्द्रीय क्याम्पसकै लागि समेत अपर्याप्त हुन आउछ त्यसैले क्याम्पस परिसरको पूर्व दक्षिणमा पर्ने पराजुलीहरूको साठीको खरबारी (ठुलो खरबारी) अधिग्रहणका लागि आपसी संवादद्वारा औपचारिक प्रयत्नको थालनीहुनु पर्दछ। स्थलगत अध्ययनका तथा समुदायमा काम गर्नका लागि Research Stations, Farm House, Demonstration Plot, Practical Site आदि स्थापनाका लागि पोखराबाहिरका स्थानमा पनि भूमीजन्य स्रोत (जग्गा) प्राप्तिका लागि पहलहरू गर्नुपर्दछ।
  • प्रस्तावित विश्वविद्यालयको आरम्भ यसको केन्द्रिीय क्याम्पस परिसरबाटै गर्नुपर्ने हुदा आवश्यक कक्षाकोठा, प्रयोगसाला, प्रशासकिय भवनहरू, पुस्तकालय, इन्टरनेट सञ्जाल विस्तार, छात्रावास, प्राध्यापक कर्मचारी आवास, सोधविद्यार्थी आवासगृह, खेलकुद मैदान, आदि पूर्वाधारहरूको मर्मत, सम्भार र विस्तारका लागि थप अनुदान चालुवर्षको बजेटमै छुट्याउनका लागि विशेष र निष्कर्षपूण पहलको आवश्यकता छ।
  • विश्वका विभिन्न विश्वविद्यालयमा जस्तैे यसले पनि आवधिक - वार्षिक क्यालेण्डर वनाएर चल्न सकेमा प्रवेशपरीक्षा, भर्ना, वार्षिक परीक्षा, उपाधि वितरण आदि जस्ता कार्यक्रमलाई पहिल्यै सुनिश्चित गर्न सकिन्छ। साथै विद्यमान परीक्षाप्रणालीमा व्यापक परिमार्जन र गम्भीर सुधारको आवश्यकता देखिन्छ। अर्धवार्षिक परीक्षाप्रणाली, आन्तरिक परीक्षा, टर्मपेपर, प्रोजेक्ट पेपर र जर्नल राईटिङ्ग, शोधपत्र आदिको वाध्यात्मक प्रावधान मार्फत ग्रेडिङ प्रणालीमा रूपान्तरण गरेर पृथ्वीनारायण विश्वविद्यालयको विशिष्ट पहिचान कायम गराउन सकिन्छ। त्यसैले नेपालका अन्य विश्वविद्यालय भन्दा पृथक पहिचान दिनका लागि पनि यसका सरोकारवालापक्षहरूले प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालयलाई पढाईमा नमूना विश्वविद्यालय (पी.एन.यू) अर्थात (Pride of Nepalese University) नेपाली विश्वविद्यालयहरूको गौरवका नामबाट चिनाउनका लागि कुनै पनि वहानामा बन्द आयोजना नगर्ने प्रतिबद्धताको ग्यारेण्टी गर्नुपर्दछ।

विश्वविद्यालय स्थापनाको सन्दर्भ र पृथ्वीनारायण विश्वविद्यालयको मार्गचित्र
भीमकालीपाटनमा वि.सं. २०१७ भाद्र १७ मा स्थापित पृथ्वीनारायण क्याम्पस आफ्नो स्थापनाको पचासौं वर्षमा प्रवेश गर्दै छ। पचास वर्षको समयचक्रसँगै धेरै उकालीओराली पार गरीसकेको क्याम्पससँग धेरै अनुभवहरू छन्, यसका विद्यार्थी तथा प्राध्यापकहरू मुलुकको नीतिनिर्माण तहमा पुगेर योगदान गरीसकेको अवस्था हाम्रा सामु विद्यमान छ। पहिलो उच्च शिक्षा परियोजना (२०५०-५१) को लक्ष्य अनुरूप पचाँसको दशकबाट पृ.ना.क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्नका लागि भएका सिमित प्रयत्नका वावजुद विश्वविद्यालयमा रूपान्तरको स्थानीय आकाङक्षा पुरा भएको छैन। ठोस पहल, कार्ययोजना एवं सरकार, विश्वविद्यालयका पदाधिकारीहरू र सरोकारवालाकै दृढ इच्छाशक्तिको अभावमा पृ.ना.विश्वविद्यालय स्थापनाका कामहरूले मूर्त आकार ग्रहण गर्न सकेको छैन। आजभन्दा ५१ वर्ष पहिले अर्थात २०१५ सालमा पोखराका केही शिक्षानुरागी युवाहरूले पोखरामै उच्च शिक्षा हासिल गर्ने अभिलाषा सहित निकालेको जुलुसले पोखराको स्थानीय प्रशासन, शिक्षाप्रेमी, समाजसेवी र स्थानीय प्रवुद्ध समुदायको ध्यानाकर्षण गरेबाट नै पृथ्वीनारायण क्याम्पसको स्थापना, सञ्चालन र विकास संभव भएको थियो। ठिक त्यस्तै आज ५१ वर्षपछि सोही क्याम्पस (कलेज) लाई विश्वविद्यालयमा रूपान्तरण गर्नका लागि आजको भेलाले सरोकारवाला सबैको ध्यानाकर्षण गर्दै आफ्नो मार्गचित्र निर्धारण गर्ने सफलता प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु। पृथ्वीनारायण विश्वविद्यालय स्थापनाका लागि निम्नअनुसारको कार्यसूची प्रस्ताव गर्न चाहन्छुः

  • सङ्घीय राज्यको अवधारणा अनुरुप सङ्घीय सरकार (केन्दीय सरकार)को दायित्वमा रहने विश्वविद्यालय राजनीतिक दलहरू र सरोकारवालाहरूको आमसहमति विना स्थापना हुन सक्दैन। आम सहमति निर्माणमा राजनीतिक सहमति र प्रतिबद्धताको प्रत्याभूति लिनका लागि विनापूर्वाग्रह राजनीतिक दलहरूलाई गुहार्नै पर्दछ। अतः राजनीतिक दलका प्रतिनिधिहरूलाई विश्वविद्यालय स्थापनाको औचित्य प्रष्ट्याउन जिम्मेबार दलहरूका उच्च राजनीतिक व्यक्तित्वहरूसँगको परामर्श बैठक गर्ने।
  • विश्वविद्यालय स्थापनाका लागि सरोकारवालाहरू (विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, त्रि.वि.का आंङ्गिक तथा संम्वद्धन प्राप्त सम्वन्धीत क्यामपसहरू, जि.वि.स.हरू., नगरपालिकाहरू, चन्दादाता–जग्गादाताहरू, प्राध्यापक–कर्मचारीका प्रतिनिधिहरू, विद्यार्थी सँगठनहरूका प्रतिनिधिहरू आदि) सँग द्धिपक्षीय तथा वहुपक्षिय सहयोग आदान–प्रदानका लागि विभिन्न चरणमा छलफल तथा वार्ताहरूको आयोजना गर्ने।
  • गत मार्ग २२ मा वसेको त्रि.वि.सभाले स्वायत्तता सम्वन्धी नियम २०६२ खारेजी गरेको भए तापनि विगतमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न स्वायत्तता सम्वन्धी अन्तरक्रिया कार्यक्रममा आएका सुझाउहरूलाई पूँजीको रूपमा लिदै पृ.ना. क्याम्पस त्रि.वि.कै मातहतमा रहेर स्वायत्ततामा जानुभन्दा नयाँ नेपाल पुनर्ःसंरचनाका सन्दर्भमा पृथक अस्तित्वको स्वायत्त विश्वविद्यालयका रूपमा विकास गर्न प्रस्ताव गर्ने। त्यसका लागि थप गृहकार्य तथा आवश्यक परामर्श, गोष्ठी, अन्तरक्रिया, विधेयक मस्यौदा तथा पूर्वाधार विकासका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग माग गर्ने।
  • विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग विश्वविद्यालय स्थापनाको माग गर्नुपूर्व यस्तो माग गर्ने “विश्वविद्यालय स्थापना सहयोग समिति” को गठन आवश्यक छ। अतः आजपर्यन्त विश्वविद्यालय स्थापनार्थ भएका प्रयत्नहरूलाई समेटदै सरोकारवाला क्षेत्रका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विश्वविद्यालय अनुदान आयोगलगायत सरकारी निकायका प्रतिनिधिहरूसमेतको संलग्नतामा समावेशी प्रकृतिको पृथ्वीनारायण विश्वविद्यालय स्थापना सहयोग समिति गठन पश्चात यसैको सचिवालय मार्फत विश्वविद्यालय घोषणा गर्न तथा आवश्यक कार्यसंञ्चालन गर्नका लागि सचिवालय गठनको प्रक्रिया अगाडी बढाउने।
  • विश्वविद्यालय स्थापना सहयोग समिति कै आयोजनामा सरोकारवालाहरूको वृहद भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी राय–सुझाव संकलन गर्नुका साथै निम्न अनुसारका कार्यदल गठन गरी निश्चित समयभित्र सो को प्रतिवेदन माग गर्ने।
  • विश्वविद्यालय स्थापना र सञ्चालनार्थ लाग्ने लागतको अध्ययन गरी वित्तीय रणनीति तयार गर्नका लागि अध्ययनकार्यदल गठन गर्ने।
  • हाल कार्यरत शिक्षक–कर्मचारीहरूको सेवासर्त र सुविधालाई नयाँ विश्वविद्यालयमा समायोजन गर्ने बारेमा अध्ययन गरी सुझाउ दिनका लागि प्राध्यापक र कर्मचारीका प्रतिनिधिहरू सहितको सेवा समायोजन अध्ययन कार्यदल गठन गर्ने।
  • नयाँ सिलेवस÷पाठ्यक्रम निर्माणका लागि वृहद गोष्ठीको आयोजना र पाठ्यपुस्तक लेखन, पाठ्यसामग्री निर्माण र सन्दर्भ सामग्री प्रकाशनका लागि प्रकाशनगृहसहितको पाठ्यक्रम विकास केन्द्रको गठन तथा सञ्चालन गर्ने।
  • विश्वविद्यालयका न्यूनतम आवश्यक पूर्वाधार विकासका साथै अनुसन्धानको परम्परलाई विकास गर्नका लागि स्रोत, साधन र अधिकार सम्पन्न अनुसन्धान केन्द्रको स्थापना तथा सञ्चालन गर्ने।
  • पोखरा विश्वविद्यालय स्थापना (२०५४) का वखत उत्पन्न कमजोरीबाट शिक्षा लिदै सामाजिक सहमतिको विस्तार गर्ने। सरोकारवाला समुदाय र सङ्घीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थानीय सरकार लाई आवश्यक पर्ने प्राज्ञिक परामर्शसेवा यसै विश्वविद्यालयले उपलव्ध गराउने र स्थानीय सरकारले सञ्चालन लागतमा लागत–सहभागीता जनाउनका लागि विभिन्न तहमा समझदारीहरू निर्माण गर्ने।
  • प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालयसँग आबद्ध हुनचाहने यस क्षेत्रमा रहेका सरोकारवाला क्याम्पसहरूमा विभिन्न सवालहरूमा अन्तरक्रियाहरूसञ्चालन गर्ने र प्रस्तावित विश्वविद्यालयका मस्यौदामाथि छलफल गरी अन्तिम रुप दिने।

अन्तमा,
त्यसैले सामुहिक रूपमा अबको कार्यसूची तयार गरौं। जसमा क्याम्पस प्रशासनले आवधिक क्यालेण्डरको निर्माण र कार्यान्वयनको अभ्यास, प्राध्यापक–कर्मचारी–विद्यार्थीहरू वृहद शैक्षिक सम्मेलनको तयारी र राष्ट्रिय लक्ष्य निर्धारणको कार्यमा जुटौ, स्थानीय बासिन्दा–नागरीक समाजका अगुवा एवं दलका प्रतिनिधिहरूलाइ विश्वविद्यालय स्थापना सम्वन्धी मस्यौदा विधेयकको अध्ययन, राय सुझाउ संकलन र स्थानीय पहलमा स्रोत व्यवस्थापनको जिम्मेबारी सुम्पदै सरकार (शिक्षा मन्त्रालय, यूजीसी, त्रि.वि.)लाई विधेयक प्रस्तुती, पारित, पूर्वाधार विकास र बजेटको व्यवस्थाका लागि अनुरोध गरौं। मुलुकमा सङ्घीय संरचनाको घोषणा सँगै पृथ्वीनारायण विश्वविद्यालयको स्थापना अवश्यंभावी छ। एक्काइसौ शताव्दीमा प्रतिस्पर्धी, रोजगारमुखी, दक्षजनशक्ति उत्पादनका लागि जनताको नयाँ विश्वविद्यालय (People’s New University) का रूपमा नेपाली विश्वविद्यालयहरूको गौरव (Pride of Nepalese University) का रूपमा र वास्तवमा असल कुरा सिक्ने र सिकाउने ठाँउका (Place of Nobel Understanding) रूपमा पृथ्वीनारायण विश्वविद्यालय (Prithvi Narayan University) को स्थापनाका लागि सरोकारवाला सबैले प्रतिवद्धता जाहेर गर्नै पर्दछ।

सन्दर्भसामग्री

  • Bhattarai, Khagendra (2006), An unpublished draft presented on Second Higher Education Project Policy Reform, on behalf of University Grants Commission.
  • Danbury, Groller (2000), The Encyclopedia American, Vol. 9.
  • Ferrante Joan (1995), Sociology, Global Perspective, Wadsworth Publishing Company Belmont.
  • Giddens, Anthony (2003), Sociology, (4th Edition), Polity Press.
  • Sill, L. David (1998), International Encyclopedia of Social Science, Vol. 15, pp 191-198, NY Macmillan Company.
  • Watkins, Kevin (2000), The Oxfam Education Report, Oxfam.
  • उपाध्याय, पुरुषोत्तम (२०५९), त्रिभुवन विश्वविद्यालय, विगतदेखि वर्तमानसम्म।
  • कान्तिपुर पव्लिकेशन (२०६७), कान्तिपुर दैनिक, वर्ष १८ अंङक ५७, २०६७ वैशाख ३, पृष्ठ ३।
  • जोशी, कमलकृष्ण (२०६३), समावेशी लोकतन्त्रमा शैक्षिक संरचना, नेपाल बुद्धिजीवी परिषद् छैठौं राष्ट्रिय अधिवेशन, स्मारिका, काठमाडौं।
  • नेपाल, नारायणदत्त (२०५६), त्रि.वि. क्याम्पस समूह विकास कार्यक्रम र पृथ्वीनारायण विश्वविद्यालय, (गोष्ठीमा प्रस्तुत कार्यपत्र ः ने.प्रा.संघ पृ.ना.क्या. इकाई समिति द्वारा आयोजित गोष्ठी)।
  • नेपाल प्रगतिशील प्राध्यापक संङगठन (२०५८), स्मारिका।
  • पराजुली, विश्वकल्याण (२०६४), एककाईसौ शताव्दीमा नेपाली विश्वविद्यालयका चुनौतीहरू, प्राज्ञमञ्च, वर्ष २१ अङ्क १० त्रि.वि.प्राध्यापक सङंघ, पृ.ना.क्याम्पस।
  • पराजुली, विश्वकल्याण (२०६६), सङ्घीय नेपालमा विश्वविद्यालयको पुनःसंरचना र पृथ्वीनारायण विश्वविद्यालय स्थापनामा पहल, पृ.ना.क्याम्पस पोखरामा आयोजित पृथ्वीनारायण विश्वविद्यालय स्थापनामा पहल विषयक विचार गोष्ठीमा प्रस्तुत कार्यपत्र।
  • पृ.ना. क्याम्पस पोखरा का विभिन्न अभिलेखहरू (२०६६)।
  • बराल, केसरजंङ्ग (२०६६), पृथ्वीनारायण क्याम्पसको वित्तीय तथा शैक्षिक रणनीतिहरू, (स्वर्णजयन्ती स्मारिकामा प्रकाशनार्थ प्रेषित लेख)

अनुसुची – १
पश्चिमाञ्चल विकास क्षेत्र (गण्डकी, धौलागिरि र लुम्विनी अञ्चल)मा रहेका त्रि.वि.का सम्बन्धनप्राप्त र आङ्गिक क्याम्पसहरूको विबरण
धौलागिरि अञ्चलः(१+७)
म्याग्दी, वेनी म्याग्दी बहुमुखी क्याम्पस
वाग्लुङ्ग, पैयुँपाटा बलेवा क्याम्पस
गल्कोट, गल्कोट बहुमुखी क्याम्पस
वाग्लुङ्ग, महेन्द्र क्याम्पस आङ्गिक क्याम्पस
पर्वत, फलेवास पर्वत क्याम्पस
कुस्मा, गुप्तेश्वर क्याम्पस
ठुलीपोखरी, जनता सुदर्शन क्याम्पस
हुवास त्रिबेणी, पैयूँ बहुमुखी क्याम्पस
लुम्बिनी अञ्चल (४+२७)
गुल्मी, तम्घास, रेसुङ्गा क्याम्पस
वामीटक्सार रुद्राववती क्याम्पस
अर्घाखाँची, खिदिम हरीहर शिक्षा क्याम्पस
सन्धिखर्क, पाणिनी क्याम्पस
कपिलवस्तु, बाणगंगा सिद्धार्थ क्याम्पस
तौलिहवा, कपिलवस्तु क्याम्पस
रूपन्देही, बुटवल लुम्विनी वाणिज्य क्याम्पस
मणीग्राम, राममणि क्याम्पस
बुटबल, सिद्धार्थ गौतम बहुमुखी क्याम्पस
रामापुर, रामापुर क्याम्पस
भैरहबा, रुपन्देही क्याम्पस
बुटबल, बुटबल क्याम्पस (आङ्गिक क्याम्पस)
भैरहवा, भैरहवा क्याम्पस (आङ्गिक क्याम्पस)
पक्लिहवा, पक्लिहवा क्याम्पस (आङ्गिक क्याम्प)स
नवलपरासी, कावासोती कुमारवर्ती वाणिज्य क्याम्पस
कावासोती, मध्यविन्दु क्याम्पस
काववासोती, लुम्बिनी आदर्श क्याम्पस
बर्दघाट, दिव्यज्योति क्याम्पस
परासी, पाल्ही क्याम्पस
सुनबल, महाकवी लक्ष्मीप्रसाद देवकोटा क्याम्पस
रजहर, देवचुली क्याम्पस
चोरमारा, नवजागरण क्याम्पस
अरुणखोला, अरुणखोला क्याम्पस
बेलाटारी, त्रिभुवन क्याम्पस
पाल्पा, तानसेन, तानसेन बहुमुखी क्याम्पस
तानसेन, मिलेनियम बहुमुखी क्याम्पस
दमकडा, माण्डव्य क्याम्पस
रामपुर, शहीद क्याम्पस
पूर्वखोला, उद्बुद्ध कलेज
तानसेन, त्रिभुवन क्याम्पस (आङ्गिक क्याम्पस)
गण्डकी अञ्चल (६+३४)
श्याङ्जा, वालिङ वालिङ क्याम्पस
वालिङ, नेपाल आदर्श क्याम्पस
श्याङ्जा, त्रिभुवन आदर्श क्याम्पस
श्याङ्जा, पयनियर क्याम्पस
गल्याङ्ग, गल्याङ्ग वहुमुखी क्याम्पस
विर्घा, कालिगण्डकी क्याम्पस
दरौंखोला, कालिका क्याम्पस
रँङ्गेठाटी, प्रद्युम्न पनेरु क्याम्पस
चापाकोट, चापाकोट क्याम्पस
मिरमी, मिर्मी क्याम्पस
तनहुँ, दमौली, आदिकवि भानुभक्त क्याम्पस
खैरेनीटार, भानुभक्त क्याम्पस
दमौली, परासर कलेज
आँबुखैरेनी, आबुखैरेनी क्याम्पस
गोरखा, गोरखा द्र्रव्यशाह क्याम्पस
गोरखा, गोरखा क्याम्पस (आङ्गिक क्याम्पस)
लमजुङ, बेशीसहर मस्र्याङ्गदी क्याम्पस
भोर्लेटार, ईशानेश्वर क्याम्पस
सुन्दरबजार, मातृभूमि क्याम्पस
भोटेओडार, भक्ति आदर्श क्याम्पस
दुराडाँडा, सर्वोदय क्याम्पस
सुन्दरबजार लमजुङ कृषि क्याम्पस (आङ्गिक क्याम्पस)
कास्की, पोखरा, नदिपुर कन्या क्याम्पस
पोखरा, जनप्रिय बहुमुखी क्याम्पस
पोखरा, पोखरा बहुमुखी क्याम्पस
पोखरा, कालिका बहुमुखी क्याम्पस
पोखरा, माउण्ट अन्नपूर्ण क्याम्पस
पोखरा, शिक्षा महाविद्यालय
पोखरा, गुप्तेश्वर क्याम्पस
हेमजा, गौरी शंङकर क्याम्पस
नाउडाँडा, माछापुच्छ्रे क्याम्पस
लेखनाथ, जन प्रकाश क्याम्पस
लेखनाथ, लक्ष्मी आदर्श क्याम्पस
पोखरा, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर
पोखरा, मल्टीमोडल क्याम्पस
पोखरा, पृथ्वीनारायण बहुमुखी क्याम्पस (आङ्गिक क्याम्पस)
पोखरा, केन्द्रीय वन क्याम्पस आङ्गिक क्याम्पस
पोखरा, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (आङ्गिक क्याम्पस)
पोखरा, नर्सिङ्ग क्याम्पस आङ्गिक क्याम्पस
स्रोतः त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, पश्चिमाञ्चल कार्यालय पोखरा

(डा. पराजुली त्रिविवि, पृथ्वीनारायण क्याम्पस, पोखरामा समाजशास्त्र/मानवशास्त्र विभागमा प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ। यो लेख पृथ्वीनारायण क्याम्पस, पोखराको स्वर्ण जयन्तीको अवसरमा “पृथ्वीनारायण क्याम्पस – हिजो, आज र भोली” विषयक गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्र हो।)